-भक्तराज रसाइली
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सेयर खरिदबिक्रीको मध्यस्थकर्ता वा सेयर दलाल सेवामार्फत २०७० सालमा नयाँ टिमसहितको समूहबाट सञ्चालित एसियन सेक्युरिटीज प्रा.लि.का प्रबन्धक निर्देशक राजकुमार खत्रीलाई यससाताको ब्रोकर वाचमा समेट्ने प्रयास गरेका छौ । 

एसियन सेक्युरिटीज प्रा.लि.को कम्पनी अध्यक्ष रुद्रप्रसाद शर्मा हुन् । कम्पनीको मुख्य कार्यालय काठमाण्डौंको न्युप्लाजामा छ भने उपत्यका बाहिर बुटवलस्थित सुखानगर चौराहामा शाखा छ । 

मुख्य कार्यालयमा १३ जना कर्मचारी र शाखा कार्यालयमा ४ जना कर्मचारी कार्यरत छन् । २ करोड चुक्ता पूँजी रहेको कम्पनीमा रिजर्ब ३० लाख भएको कम्पनीले जनाएको छ । 

चारजना प्रमोटर रहेको एशियनमा सेवापछिको मेवा भन्ने लोकोक्तिलाई अनुसरण गर्ने गरिएको प्रबन्धक निर्देशक खत्रीको भनाइ छ । गोर्खा फिनाम गाउँपालिका स्थायी ठेगाना भएका खत्री हाल ललितपुर महानगरपालिका नख्खुमा बसोबास गर्छन् ।

२०७२ साल भदौ १ गतेबाट डीपी सेवा समेत सञ्चालन गरेको एशियनमा व्यक्तिगत हितग्राही खाता ९ हजार  र संस्थागत ५५ वटाको हाराहारीमा रहेको कम्पनीको दाबी छ । कुल कारोबार खाता ३० हजार ८ सय ९२ खोलेका लगानीकर्ताहरुको एशियनमा दैनिक १ सय १५ जनाले औसतमा सेयर कारोबार गर्ने गरेको खत्री बताउँछन् ।

आक्रमकता भन्दा पनि व्यापारसँगै सेवालाई महत्व दिंदै नियामकको नियमन र निर्देशनमा कछुवा गतिमा नै सेवा प्रवाहकका रुपमा चिनाउन चाहेको खत्रीले बिजशालासँग भने, हाम्रो बलियो पक्ष भनेको चाहिँ ग्राहकलाई विश्वासमा लिएर सेवा दिदै क्षणिक स्वार्थभन्दा पनि लगानीको सुरक्षण र फाइदामा केन्द्रित हुनु हो । साना तथा ठूला लगानीकर्ताहरुका समस्या समाधान गर्दै समान व्यवहार प्रदर्शन गरेर जिम्मेवारी निर्वाह गरिरहेको खत्रीको जिकिर छ ।

ब्रोकर पेशा  नै किन रोज्नुभयो भन्ने बिजशालाको प्रश्नमा खत्री भन्छन्-'सबै पेशा, व्यवसाय र क्षेत्रको सम्बन्ध(लिंक) हुने प्लेटफर्म भएको ठाउँ हो । आफैंलाई समेत चुस्तदुरुस्त बन्न सघाउ पुग्ने भएकोले विगत १६ वर्षदेखि यही पूँजी बजारमा काम गर्दा आनन्द लागिरहेको छ ।' 

संसारमा समेत ब्रोकर पेशालाई सम्मानित पेशा र आकर्षक क्षेत्र मानिने भएकोले नेपालमा समेत यसप्रति आकर्षण रहेको उनले सुनाए ।

 

धर्म नछाडिकन आफ्ना ग्राहकलाई सेवा दिने र नियामकको नियमन र निर्देशन अक्षरशः पालना गर्ने ब्रोकरका कित्तामा आफूलाई उभ्याउन खत्रीले चाहे । मार्जिन ट्रेडिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, एजेन्सी बिजनेस गर्न आफू इच्छुक रहेको बताउने खत्रीले नेप्सेको अनलाइन प्रणालीले चाँडै पूर्णता पाउनुपर्नेमा जोड दिए ।

आफ्नो ब्रोकरेज हाउस बिहान ९ः३० देखि बेलुकी ५ः३० सम्म खुल्ने र सरकारी कर्मचारीहरुको सुविधाका निम्ति थप १ घण्टा कार्यालय समेत थप्ने योजना रहेको उनले सुनाए ।

उनले लगानीकर्ताका लागि प्रोजेक्टरसहितको डिस्प्ले रूम तयार गरेका छन्,  जहाँ एसीसमेतको व्यवस्था रहेको छ । त्यहाँ लगानीकर्ताको हितका लागि तातोचीसोको व्यवस्था समेत गरिएको उनको भनाई छ । 

भुक्तानी समयमै दिने र आवश्यक परे ग्राहककै बैंक खातामा पैसा जम्मा गरिदिने सेवासुविधा समेत रहेको खत्री दाबी गर्छन् । 

अन्य ब्रोकर साथीभाइलाई सहयात्री ठान्ने खत्रीका अनुसार सक्षम कर्मचारीसहितको टिम, ग्राहकको प्रत्यक्ष गुनासो सम्बोधन र इमान्दारीतापूर्वक सेवाप्रवाह गर्ने भएकाले लगानीकर्ताहरुलाई सेवा लिएर हेर्न समेत उनले आह्वान गरे ।

अहिले नेप्से अनलाइन ट्रेडिङ सिस्टम चुस्तदुरुस्त हुनुपर्ने भन्दै डिम्याट र बैंक इन्टीग्रेसनसहितको सुविधा छिटोभन्दा छिटो दिन नेप्सेलाई जोड दिए । 

धितोपत्र बोर्डलाई चाहिँ बजारमैत्री ,समयसापेक्ष नीतिगत परिवर्तन हुनुपर्ने भन्दै आरडब्लूएसको मापदण्ड समयानुकूल बनाइनुपर्ने उनको सुझाव छ ।

मुलुकका लागि पूँजीबजारलाई ब्लड सर्कुलेसन र मेरुदण्डको परिभाषा दिन रुचाउने उनले बृहत् पूजीस्रोत जुटाउने विश्वसनीय स्रोत रहेको पूँजीबजारबाट आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । 

आर्थिक स्रोतहरुको परिचालन, उत्पादनशील क्षेत्रहरुको उन्नयन र रोजगारी सिर्जनाका लागि समेत पूँजीबजारको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । 

दोश्रो त्रैमाससम्म १६० कम्पनीको ९२ करोड २७ लाख ८१ हजार रकम बराबर कारोबार गरेको कम्पनी आजसम्म नियामकको कुनै कार्वाहीमा नपरेको खत्रीले दाबी समेत गरे । 

दोस्रो बजार अझै भर्जिन रहेको दाबी गरेका खत्रीले आर्थिक नीतिगत रुपमा पूँजीबजार पछाडि नै परेकोमा चिन्ता समेत व्यक्त गरे । 

लगानीकर्ता सचेतना बढाउन जोड दिनुपर्ने भन्दै उनले भने,सचेतनाकै अभावले अलमलको स्थिति पैदा भएको छ ।  सम्बद्ध निकायहरुबीच अन्तरनिकाय समन्वयको आवश्यकता देख्छु ।  नियामकले दूरदर्शिता अपनाउनुपर्ने, तर सेयरको आपूर्ति बढे पनि त्यसलाई सम्बोधन गर्ने माग सिर्जना गर्नेतर्फ सिन्को नभाँचेकोमा दुःख व्यक्त गरे ।

म्युचुअल फण्डहरुलाई आइपीओमा दिएको आरक्षण र पूँजीगत लाभमा छुटले लगानीकर्ताहरुलाई असमान व्यवहार र मर्का परिरहेको उनको गुनासो छ ।

लगानीकर्ताको आखामा एसियन सेक्युरिटीज 
विश्वराज वाग्ले (पूर्वकर्मचारी)-सामाखुशी
म यो ब्रोकरसँग सुरुवातदेखि नै जोडिएको हुँ  । यहाँबाट पाइने सेवामा कुनै सिकायत छैन । सबैले हामीलाई राम्रो रेस्पोन्स गर्नुहुन्छ । यहीँबाट मार्जिन लोन पाउन पाए बैंक जानपर्ने झन्झट हुने थिएन । 

कमला पाण्डे(पूर्वकर्मचारी)-गैरीधारा
यस ब्रोकर कार्यालयबाट राम्रो सेवासुविधा पाइरहेकोले धेरै वर्षदेखि कारोबार गरिरहेकी छु । सबै ठीक छ, तर मार्जिन लोन लिन पाए सहज हुन्थ्यो । 

अर्जुन तिमिल्सिना(सक्रिय संस्थागत लगानीकर्ता)-बुढानिलकण्ठ 
विगत ३ वर्षदेखि म यहाँको ग्राहक हुँ । यस ब्रोकर कार्यालयको रोचक र राम्रो पक्ष चाहिँ सबैसँग उमेर मिल्ने भएकाले समेत समझदारी कायम भएको छ । मार्जिन लोनको व्यवस्था यहाँनेर भए सहज हुने थियो कि ।