काठमाण्डौ । कोरोनाको दोश्रो लहर सुरु भएपछि देशमा पहिलोपटक थपिने संक्रमितभन्दा निको भई डिस्चार्ज हुनेको संख्या बढेको छ । 

गत २४ घण्टामा देशभर ६ हजार ७१४ कोरोना संक्रमित थपिएका र यो अवधिमा ६ हजार ७१६ डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमणबाट मुक्त हुने दर समेत बढेर ७६.९ प्रतिशत पुगेको छ । 

आज देशभर १९ हजार ३० नमूनाको पीसीआर र ३२२ को एन्टीजेन परीक्षण गरिएको थियो । पीसीआर गरिएकामध्ये ६६७७ र एन्टीजेनबाट ३७ जनामा संक्रमण पुष्टि भएको थियो । 

गत २४ घण्टामा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाण्डौमा ११३९ गरी काठमाण्डौ उपत्यकामा कुल १४९३ संक्रमित थपिएका छन् । 

यो अवधिमा देशभर थप १४५ संक्रमितको ज्यान गएको छ ।