काठमाण्डौ । केही समूहले बहिस्कार अभियान चलाए पनि सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गरेको आईपीओ दोश्रो दिन नै आधाभन्दा बढी बिक्री भएको छ । 

यो कम्पनीले निश्कासन गरेको प्रिमियम मूल्यको आइपीओमा दोश्रो दिन ६० प्रतिशत भन्दा बढी कित्ताका लागि आवेदन परिसकेको छ ।

प्रिमियम मूल्यमा आईपीओ निश्कासन गरे पनि त्यो महंगो भएको भन्दै कतिपयले बहिस्कारको अभियान चलाएका थिए । तर, त्यस्ता अभियानको खासै प्रभाव देखिएन । 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निश्कासन गरेको थियो । 

दोश्रो दिन सोमबार साँझ ५ बजेसम्मको डेटाअनुसार ४ लाख ९९ हजार ५७५ आवेदकबाट ५८ लाख ८५ हजार ५०० कित्ता खरीदका लागि आवेदन परेको हो । यो भनेको कुल निश्कासित कित्ताको करिब ६०.४७ प्रतिशत हो । 

यो कम्पनीले आयोजनाप्रभावित स्थानीयका लागि १२५ प्रिमियम थपेर २२५ रुपैयाँ प्रतिकित्ताका दरले आइपीओ निश्कासन गरेको थियो । तर, स्थानीयमा भने कम्पनीको आइपीओप्रति आकर्षण देखिएको थिएन । स्थानीयले नकिनेको १४ लाख ३ हजार ५ कित्ता समेत थपेर सर्वसाधारणका लागि आइतबार(हिजो) देखि ९७ लाख ३२ हजार ५४४ कित्ता निश्कासन गरिएको थियो । 

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो। जसअन्तर्गत पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ बिक्री खुलाएको थियो । 

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बिक्री गरिसकेको छ। 

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

सोनापुर मिनरल्सको आईपीओको निष्कासन बन्द छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।