काठमाण्डौ। लामो कसरपछि खुलेको सेयर बजारमा दोस्रो दिन मंगलबार निकै उछाल आएको छ। 

कोरोबार सुरु भएको दोस्रो पहरको १२ बजेर १७ मिनेटमै ५ प्रतिशतको उछालसँगै दोस्रो सर्किट लागेपछि नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको छ। यसअघि कारोबार पहिलो घन्टाको ४८ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको उछाल आएपछि नेप्सेले २० मिनेटका लागि कारोबार रोकेको थियो। 

कोरोना सुरु भएको १ घन्टाभित्रै ४ प्रतिशतको बढोत्तरी आएपछि नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको थियो। 

दोस्रो सर्किट लाग्दासम्म नेप्से परिसूचक १२४८.५७ अंक कायम भएको छ। यो अवधिसम्म १८ करोड ८१ लाख बढीको सेयर कारोबार भएको छ। 

हिजो सोमबार तीव्र गिरावट आएपछि ४० मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको गिरावट आएपछि नेप्सले नेगेटिभ सर्किट लगाउँदै २० मिनेट कारोबार रोकेको थियो। 

निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र (११ देखि १२ बजेभित्र) नेप्से परिसूचक ४ प्रतिशतले घटी वा बढी भएमा २० मिनेटका लागि, कारोबार सुरु भएको दोस्रो घण्टाभित्र (१२ देखि १) नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा ४० मिनेट र निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ६ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुन्छ।

अहिलेसम्म ९ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमा नागरिक लगानी कोष र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने साना किसान लघुवित्त, नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट इन्स्योरेन्स, सूर्यलाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

उता नेपाल पुनर्बीमा कम्पनी र ओरेन्टल होटल्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेभेटिभ सर्किट लागेको छ।