– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कसैबाट पैसा लिँदा वा दिँदा प्रमाणस्वरुप बनाइने कागजपत्रलाई धितोपत्र भनिन्छ। यस्ता कागज किनबेच गर्न सकिने तथा नसकिने हुन्छन्। 

बैंकमा पैसा राख्दा पाइने भौचर पनि धितोपत्र नै हो। जुन किनबेच गर्न सकिन्न। 

कम्पनी तथा सरकारले आफूलाई चाहिने रकम संकलन गर्दा लगानीकर्तालाई दिने प्रमाणपत्र किनबेच गर्न सकिने धितोपत्र हो। यस्ता धितोपत्र ब्रोकरमार्फत किनबेच हुन्छन्। यसलाई जग्गाजस्तै कित्तामा छुट्याइन्छ। यसको प्रथामिक बजारमा सुरुमा कम्पनीले निष्कासन गर्दा प्रतिकित्ता रु. १०० का दरले बिक्री हुन्छ। यसलाई प्रथामिक सेयर (आईपीओ) पनि भनिन्छ। 

प्रथामिक सेयर भनेको तपाइँले शोरुममा गएर लिएको कुनै नयाँ सवारीसाधनजस्तै हो। जसलाई फस्ट ह्यान्ड भनेर हामीले बुझ्छौँ। यस्ता सवारीसाधान सेकेन्ड ह्यान्ड भएपछि मूल्य घट्दै जान्छ तर धितोपत्र बजारमा सेयरको मूल्य दोस्रो–तेस्रो व्यक्तिको हातमा पर्दा बढ्दै जान्छ। 

प्राथमिक सेयर जब दोस्रो बजारमा कारोबार हुन्छ तब माग र आपूर्तिका आधारमा मूल्य घटबढ हुँदै जान्छ। यसरी कुनै कम्पनीको सेयरको मूल्य माग र आपूर्तिको अवस्था तथा कम्पनीको अवस्थाअनुसार तलमाथि हुँदै जान्छ। यही आधारमा नेपालमा राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) को मूल्य आज प्रतिकित्ता २० हजार २०० रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय सेयर बजारमा हेर्ने हो भने ब्रिटेनको बर्कसायर हाथवे कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ लाख ३० हजार अमेरिकी डलर पुगेको छ।  

कुनै पनि सेयरको मूल्य त्यो कम्पनीले गर्ने वार्षिक आम्दानी र बाँड्ने लाभांशका आधारमा बढ्ने तथा घट्ने हुन्छ। 

सेयर बजारमा प्रथामिक बजार र देस्रो बजार हुन्छन्। प्राथमिक बजारमा रु. १०० मै सेयर पाइने भएकोले धेरै जोखिम हुँदैन तर दोस्रो बजारमा भने धेरै जोखिम हुने हुँदा सेयर किन्दा निकै होसियार हुर्नुपर्छ। 

अहिले नेपालको सेयर बजारमा २०० भन्दा बढी कम्पनी रहेका छन्। तिनीहरुमा पनि सीमित कम्पनीमात्रै बजारमा खरिद गर्न उपयुक्त रहेका छन्। एक लगानीकर्ताले धेरैमा १० वटा कम्पनीमा मात्रै लगानी गरे पुग्छ। छनौटको विधिबाट राम्रा कम्पनी छान्न सकिन्छ। 

कम्पनी छनौटका विधि 

बिक्रीयोग्य अर्थात ब्लुचिप कम्पनी 

चाहेको बेला तुरुन्तै बिक्री गर्न सकिने कम्पनीलाई बिक्रीयोग्य अर्थात ब्लुचिप कम्पनी भनेर बुझिन्छ। सेयरमा लगानी गरेपछि हामीले चाहेको बेलामा बिक्री  गरेर सेयरलाई नगदमा रुपान्तरण गर्न सकिने कम्पनी छनौट गरिनुपर्छ। यस्ता कम्पनी भनेको सेयर बजारमा दैनिक कारोबारमा आउने र धेरै लगानीकर्ताको नजरमा भएका कम्पनी हुन्। दैनिक कारोबार हुने कम्पनी हामीले चाहेको समयमा नाफा बुक गरेर बिक्री गर्न सक्छौँ।

कम्पनीको आय तथा आम्दानी 

हरेक कम्पनीले दैनिक आम्दानी गरेका हुन्छन्। जसलाई हरेका त्रैमासमा प्रतिवेदन बनाएर सार्वजनिक गरेका हुन्छन्। यस्तो रिपोर्टमा प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँभन्दा बढी भएका कम्पनी छनौट गरिनु उपयुक्त हुन्छ। प्राइस अर्निङ रेसियो (पीई रेसियो) १७ गुणाभन्दा कम भएको कम्पनी छनौट गरिनुपर्छ। जुन हामीले कम्पनीको ब्यालेन्स सिटमा हेर्न सकिन्छ।

पुँजीगत आय 

पुँजीगत आय भनेको कम्पनीको भविष्यमा गएर मूल्य बढ्दै जाने कम्पनी भनेर बुझिन्छ। जुन कम्पनीको बजारमा राम्रो व्यापार गरेको छ अर्थात हरेक वर्ष प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी बढ्दै गएको छ, त्यस्ता कम्पनीको भविष्यमा मूल्य बढ्दै जाने हुन्छ। नेपालको सेयर बजारको अवस्थामा हरेक वर्ष बोनस सेयर तथा हकप्रद सेयर दिने कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।

सुरक्षित कम्पनी 

सेयर बजारमा उच्च प्रतिसेयर अम्दानी, उच्च नेटवर्थ, पुँजीबराबर रिजर्भ, रिर्टन अन अर्निङ बढी भएका कम्पनीलाई हामी सुरक्षित कम्पनी पनि भनेर बुझ्छौँ। 

सञ्चालक समिति 

हरेका कम्पनीमा सञ्चालक र व्यवस्थापन टोली रहेका हुन्छन्। कम्पनी तथा संस्थाप्रति उत्तरदायी भएका  सञ्चालकहरु हेरिनुपर्छ। जसले समय–समयमा वार्षिक साधारणसभा गर्छन् र लगानीकर्तालाई हरेक वर्ष लाभाँस दिने गर्छन्।

कम्पनीको ब्यालेन्स सिट हेर्ने तरिका 

आज हामीले उदाहरणका लागि एउटा बैंकको ब्यालेन्स सिटलाई लिएका छौँ। 

कम्पनीहरुले ब्यालेन्स सिट हरेक त्रैमास अर्थात वर्षको चारपटक निष्कासन गर्छन्। असार महिना आर्थिक वर्षको अन्त्य भएकोले वार्षिक प्रतिवेदन आउने गर्छ। यो भनेको वर्षभरि कम्पनीले कमाएको रिर्पोट हो। 

हामीले सेयर बजारमा सेयर खरिद गर्दा मुख्य गरी कम्पनीका केही मुख्य सूचकलाई हेर्नुपर्छ। जस्तो– कम्पनीको पुँजी। जसलाई सेयर क्यापिट भनिन्छ। यो भनेको कम्पनीले उठाएको पुँजीको कुल इकाइ हो। 

त्यस्तैगरी रिजर्भ, रिटेन अर्निङ, सेयर प्रिमियम पनि हुन्छ। रिजर्भ भनेको कम्पनीले लगानीकर्तालाई लाभांश बाँड्नुअघि राखिएको अनिवार्य मौज्दात हो भने रिटेन अर्निङ भनेको बाँडेर रहेको रकम हो। जुन कम्पनीले आउने वर्ष बाँड्न पनि पाउँछ। रिजर्भ भने उसले पुँजीको दोब्बर नभएसम्म चलाउन पाउँदैन। सेयर प्रिमियम भनेको सेयर उठाउँदा यदि रु. १०० भन्दा बढीमा जारी गरेको छ वा एफपीओ जारी गरेको छ भने यस्तो रकममा प्रिमियमा रहेको हुन्छ। जुन भनेको लगानीकर्ताकै पुँजी हो। कम्पनीले चाहेमा प्रिमियमबाट लाभाँश दिन सक्छ। (चित्रमा हेर्नुहोस् रातो चार कोठाभित्र)

यसैगरी अरु मुख्य सूचक भनेको कम्पनीको प्रतिसेयर आम्दानी हो। यो भनेको करपछि कम्पनीले कमाएको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आएको प्रतिफललाई प्रतिसेयर अम्मदानी भनिन्छ। 

अर्को सूचक भनेको मूल्य अम्दानी अनुपात हो। यो भनेको कम्पनीको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आएको अनुपात हो। यस्तो अनुपात अन्तर्राष्ट्रिय चलनअनुसार १७ भन्दा तल भए सेयरको मूल्य सस्तो भएको बुझिन्छ। 

कम्पनीको नेटवर्थ पनि अर्को महत्वपूर्ण सूचक हो। यो जति धेरै भयो, त्यति नै कम्पनी बलियो हुन्छ। कम्पनीको सम्पूर्ण सम्पत्तिबाट तिर्नुपर्ने दायित्व घटाएपछि बुक भ्यालु आउँछ र सो बुक भ्यालुलाई नम्बर अफ सेयर संख्यखले भाग गरेपछि प्रतिसेयर बुक भ्यालु अर्थात प्रतिसेयर नेटवर्थ आउँछ। (हेर्नुहोस् हरियो चारकोठाभित्र) 

त्यसैगरी अर्को महत्वपूर्ण भनेको निष्क्रिय कर्जा (एनपीएल) पनि हो। यो भनेको कम्पनीको जति थोरै भयो, त्यति राम्रो हुन्छ। यस्तो अनुपात ५ प्रतिशतभन्दा बढी हुन गएको लाभांश बाँड्नलाई नेपाल राष्ट्र बैंकले रोक लागाउन पनि सक्छ। (हेर्नुहोस् रातो एरो)