– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अहिले धितोपत्र दोस्रो बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिएका छन्। प्राथमिक बजारमा पनि उत्तिकै आकर्षण बढेको छ। 

धितोपत्र दोस्रोमा सेयर किन्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। अझ बढी ध्यान सेयर किनेपछि दिनुपर्छ। 

कुनै कम्पनीको सेयर किनेर मात्रै हुँदैन। हामी दैनिक उक्त कम्पनीको सेयरले धितोपत्र बजारमा कस्तो प्रदर्शन गरिरहेको भन्ने कुरा पनि निहाल्नुपर्छ। आफूले सेयर किनेको कम्पनीको त्रैमासिक वित्तीय विवरण अध्ययन गर्न पनि आवश्यक हुन्छ। 

हरेका दिन दोस्रो बजारमा आफूले किनेको सेयर भाउ कतिमा कारोबार भइरहेको छ, मूल्य कति बढ्यो र घट्योजस्ता विषयलाई ध्यान पनि दिनुपर्छ। 

आज हामीले त्यस्ता मुख्य–मुख्य विषयलाई बुँदागत हिसाबले व्याख्या गर्ने कोसिस गरेका छौँ। 

लगानीको उद्देश्य छान्ने

लगानीका उद्देश्य अल्पकालीन तथा दीर्घकालीन दुवै हुन सक्छन्। सेयर खरिद गर्दा आधारभूत तथा प्राविधिक पक्षलाई पनि ध्यान दिनुपर्छ। यदि लगानी अल्पकालीन हो भने प्राविधिक विश्लेषणलाई पनि राम्रोसँग ध्यान दिएर खरिद गर्नुपर्छ। लगानी दीर्घकालीन हो भने आधारभूत रुपमा बलिया कम्पनीका सेयर खरिद गर्नुपर्छ।

कम्पनीको छनोट

सेयर बजारमा मुख्य विषय भनेको कम्पनीको छनौट नै हो। यसका लागि कम्पनीको आन्तरिक तथा बाह्य विश्लेषण गर्न आवश्यक हुन्छ। आन्तरिक विश्लेषणअन्तगर्त कम्पनीको चुक्तापुँजी, रिजर्भ, खुद नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात तथ खराब कर्जालाई ध्यान दिनुपर्छ। यसका साथै अर्को महत्वपूर्ण भनेको कम्पनीको रिटर्न अन इक्विटीलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। रिटर्न अन इक्विटी हरेक वर्ष बढ्दै गएको देखिएकोमा त्यस्ता कम्पनीहरुको सेयर खरिद गर्नु उचित हुन्छ। 

बाह्य विश्लेषणअन्तर्गत कम्पनीको दोस्रो बजारमा मूल्यको उतारचढाव र कम्पनीप्रति अन्य लगानीकर्ताको दृष्टिकोण तथा कम्पनीले गरेको व्यापार तथा विस्तारलाई ध्यान दिनुपर्ने हुन्छ।

सेयर किनेपछि ध्यान दिनुपर्ने मुख्य विषय 

सेयर किनेपछि हरेक दिन आर्थिक पत्रिका तथा आर्थिक अनलाइन पोर्टल हेर्ने गर्नुपर्छ। यदि नियमित बजार हेर्ने फुर्सद छैन भने पनि हरेक दिन कम्पनीहरुको सेयरमूल्य नियाल्नुपर्छ। कम्पनीले जारी गरेको त्रैमासिक वित्तीय विवरण, हकप्रद निष्कासन तथा लाभांशको विवरण ख्याल गर्नुपर्छ। सकेसम्म आफूसँग भएको कम्पनीको वार्षिक साधारणसभामा अनिवार्य उपस्थित हुन र जानुभन्दा पहिले वार्षिक प्रतिवेदन पढेर सहभागी हुनुपर्छ। 

आफूसँग भएको सेयरको मूल्यलाई ख्याल गर्नुपर्छ। घट्ने सम्भावना देखे बेच्नुपर्छ। बढ्ने सम्भावना देखिए होल्ड गर्ने र अझै बढ्छ जस्तो लागेमा थप खरिद गर्ने। सेयर किनेपछि भोलिपल्ट नै ब्रोकरलाई पैसा तिर्नुपर्छ भने बेचेपछि २४ घन्टाभित्र मेरो सेयरमा गएर ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्छ। अन्यथा २० प्रतिशत जरिवाना लाग्ने सम्भावना हुन्छ।