– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा लगानी गर्दा मुख्य विषय भनेको कम्पनीको छनौट नै हो। कम्पनी छनौट गर्दा सबैभन्दा पहिले आफूले लगानी गर्नुको उद्देश्य पहिचान गर्नुपर्छ। आफ्नो लगानी अल्पकालीन हो वा दीर्घकालीन ? प्रस्ट हुनुपर्छ। 

कम्पनी छनौट गर्दा लगानीको उद्देश्य, लगानीको समय, जोखिम बहन गर्न सक्ने क्षमता र लगानीकर्ताको पेसा तथा आम्दानीजस्ता विषयलाई विशेष ध्यान दिनुपर्छ। यदि दीर्घकालका लागि लगानी गर्न लागिएको हो भने आधारभूत रुपमा बलिया कम्पनी उपयुक्त हुन सक्छ। अल्पकालीन लगानी गर्न लागिएको हो भने हाई बिटा भएका तथा कमपुँजी भएका कम्पनी उपयुक्त हुन सक्छ। 

कम्पनी छनौट विधि

यदि लगानी दीर्घकालका लागि हो भने कम्पनीको छनौट गर्दा तुरुन्त बिक्री गर्न सकिने खालको हुनुपर्छ। त्यस्ता कम्पनी हरेक वर्ष नाफामा गएको, रिटर्न अन इक्विटी बढ्दै गएको, हरेक वर्ष लाभांश बाँडेको, सकारात्मक नेटवर्थ भएको तथा संस्थागत सुशासन भएको हुनुपर्छ। 

सेयरमा गरिएको लगानीबाट दुई थरीको आम्दानी हुने गर्छ– पुँजीगत लाभ र लाभांश। पुँजीगत लाभ सेयरको मूल्य बढ्दै गएको अवस्थामा प्राप्त हुन्छ। लाभांश भने कम्पनीले हरेको वर्ष नाफाबाट वितरण गर्नेछ। 

यदि लामो समयावधिका लागि लगानी गर्न लागिएको हो भने आधारभूत रुपमा बलिया कम्पनी नै उपयुक्त हुन सक्छ। लगानी गर्दा एउटामात्रै कम्पनीमा लगानी नगरेर विभिन्न कम्पनीमा विविधीकरण गरेर लगानी गर्न सकिन्छ। 

लगानी गर्दा अर्को मुख्य विषय भनेको भविष्यमा सेयरमूल्य बढेर जाने कम्पनी छान्नुपर्छ। यसका लागि लगानी तथा व्यापार बढाउँदै गएको कम्पनी उपयुक्त हुन सक्छ। 

त्यस्तै अर्को महत्वपूर्ण भनेको कम्पनीको वित्तीय अवस्था पनि हो। कम्पनी भविष्यमा गएर टाँट पल्टिने खालको हुनुहुँदैन। यदि कम्पनी डुबेमा लगानीकर्ताको लगानी पनि डुब्न सक्छ।

यदि लगानी अल्पकालका लागि ट्रेडिङ गर्ने उद्देश्यका लागि हो भने हाई बिटा भएको र कम पुँजी भएको कम्पनी बढी उपयुक्त हुन सक्छ। किनकि त्यस्ता कम्पनीको मूल्य धेरै तलमाथि गर्ने भएकोले अल्पकालमा ट्रेड गर्न र छोटो समयमा बढी मुनाफा निकाल्न सकिन्छ।

कम पुँजी भएका कम्पनी बजारका खेलाडीको नजरमा हुन भएकोले पनि घट्दा किन्न र बढ्दा बेच्न सहज हुन सक्छ।