– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजारबाट मनग्य कमाउने पनि छन्। यही बजारमा सर्वस्व गुमाउने पनि उत्तिकै छन्। यही बजारबाट कमाएर घर–जग्गा जोड्ने पनि छन्। यही बजारबाट घर–जग्गा गुमाउने पनि छन्। सेयर बजारबाट कसैको परिवारमा खुसियाली छाएको छ भने कसैको परिवारमा दिनहुँ झैझगडा पनि हुने गरेका घटना प्रशस्त छन्। 

सेयर बजारमा लगानी गर्नेहरु संयमित र अनुशासित हुनुपर्छ। अध्ययन र अनुसन्धान पनि उत्तिकै आवश्यक हुन्छ। बिना अध्ययन र अनुसन्धान अन्धाधुन्दा लगानी गर्दा फस्ने सम्भावना पनि हुन्छ। 

नेपालको सेयर बजार गत वर्ष भदौमा ३१९८ को उच्च विन्दु चुमेपछि लगातार घटेर न्यून विन्दु १८०७ सम्म तल आएको थियो। पछिल्लो समय नयाँ सरकार गठनसँगै कम समयमै बजार फेरि बढेर २२११ को विन्दुसम्म पुगेको थियो। पछिल्लो दुई दिनको करेक्सनपछि बजार २१४९ मा बन्द भएको छ। 

पुराना लगानीकर्ता वैकुण्ठ पौड्याल नेपालको सेयर बजार आर्थिक र राजनीतिक दुवै कारणले प्रभावित हुने गरेको बताउँछन्। ‘कसको नेतृत्वमा सरकार बन्छ, अर्थमन्त्री को बन्छजस्ता कुरा महत्वपूर्ण हुन्छ’, उनले भने, ‘सरकार र राष्ट्र बैंकले बनाउने नीतिले पनि बजार प्रभावित हुन्छ। त्यसैले लगानी गर्दा यी कुरामा पनि ध्यान दिनुपर्छ।’

सेयर बजारमा अरुले भनेको भरमा हौसिएर लगानी गर्न नहुने पौड्यालको सुझाव छ। ‘तरलता, ब्याजदर र बजार नीति हेर्दै लगानी गर्नुपर्छ’, उनले भने, ‘आफूले किन्ने कम्पनीको व्यापार, नाफा–घाटा, रिजर्भ, लाभांश इतिहास आदि केलाउनुपर्छ।’

बजार रणनीति बनाएर लगानी गर्दै जाँदा राम्रै नाफा कमाउन सकिने पौड्यालको भनाइ छ। ‘अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्दा रेमिट्यान्समा असर पर्ने भएकोले हाम्रो अर्थतन्त्रमा पनि हलचल ल्याउँछ’, उनले भने, ‘देशभित्रको उत्पादन, आयत–निर्यात आदि कुराले बजारलाई असर गर्ने गर्छ। यस्ता कुराहरुमा लगानीकर्ताहरु चनाखो हुन जरुरी हुन्छ।’

अर्का पुराना लगानीकर्ता निर्मल रानाभाट पनि दोस्रो बजारमा लगानी गर्नुपूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रबारे ज्ञान राख्न आवश्यक रहेको बताउँछन्। ‘नियमनकारी निकायहरुले ल्याउने नीतिहरु अध्ययन गरेरमात्रै बजार रणनीति बनाउनुपर्छ’, उनले भने। 

सेयर बजारलाई तरलता र ब्याजदरले विशेष प्रभाव पार्ने भएकोले यी कुरामा पनि लगानीकर्ताले ध्यान दिनुपर्ने रानाभाटको भनाइ छ। ‘राम्रो लाभांश दिँदै आएका कम्पनीमा दीर्घकालीन लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिन्छ’, उनले भने। 

बजारको बियरिस र बुलिस चक्र अध्ययन गरेर लगानी रणनीति बनाउन पनि रानाभाट सुझाव दिन्छन्। ‘लगानीको समय र न्यूनतम कति नाफा भएपछि बेच्ने भन्ने कुरा निश्चित गरेरमात्रै लगानी गर्दा राम्रो हुन्छ’, उनले भने।