– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुने विभिन्न सेक्टरमध्ये जलविद्युत पनि एउटा हो। बजार पुँजीकरणको हिसाबले वाणिज्य बैंक सेक्टर ठूलो रहे पनि पछिल्लो समय दोस्रो बजारमा जलविद्युत सेक्टर कारोबारका हिसाबले पहिलो बन्दै आएको छ। 

पछिल्लो समय प्राथमिक सेयर निष्कासनको अनुमति पाउनेमा पनि जलविद्युत सेक्टर नै अगाडि देखिएको छ। कारोबारको हिसाबले पहिलो बने पनि लगानीकर्तालाई लाभांश दिने हिसाबमा भने जलविद्युत सेक्टर पछाडि नै परेको देखिन्छ। तर, पनि जलविद्युत सेक्टरका कम्पनीहरु लगानीकर्ताको रोजाइमा पर्दै आएका छन्। 

बजार जानकार सरोज भट्टराई जलविद्युत सेक्टरमा आर्थिक मन्दीको प्रभाव कम परेका कारण पनि लगानीकर्ताको आकर्षण बढेको हुन सक्ने बताउँछन्। ‘गएको बुलमा छोटो समयमा सबैभन्दा धेरै जलविद्युत सेक्टरका कम्पनीहरुमा लगानी गरेकाहरुले बढी कमाएका थिए’, उनले भने, ‘त्यही कारणले पनि अहिलेसम्म लगानीकर्ता यही सेक्टरमा आकर्षित भएका हुन सक्छन्।’

केही फसेका लगानीकर्ताहरुले पनि अन्य सेक्टरभन्दा जलविद्युत सेक्टरका कम्पनीहरुमा कम घाटा खाएको भट्टराई बताउँछन्। ‘ती लगानीकर्ताहरुले जलविद्युत कम्पनीहरुको सेयर नबचेर होल्ड गरेर बसेका छन्’, उनले भने, ‘नयाँ लगानीकर्ताहरु पनि जलविद्युत कम्पनीहरुको सेयरभाउ अन्य कम्पनीको तुलनामा कम घटेकोले पनि आकर्षित भएका हुन सक्छन्।’

जलविद्युत कम्पनीहरुको सेयर संख्या पनि कम भएकोले छिटो–छिटो तलमाथि गराएर भए पनि नाफा निकाल्न सकिने भएकोले पनि यो सेक्टरमा लगानीकर्ता लाग्दा कारोबार बढी भएको भट्टराईको तर्क छ। ‘पछिल्लो समय दोस्रो बजारमा कारोबार हुने नयाँ कम्पनीहरुमा जलविद्युत कम्पनीको संख्या लगातार थपिँदै जाँदा पनि कारोबार बढेको हो’, उनले भने। 

अर्का बजार जानकार बैकुण्ठ पौड्याल पनि भट्टराईको कुरामा सहमत छन्। ‘नेपालको सेयर बजारमा सेयर संख्या कम भएका सेक्टरमै लगानीकर्ता झुम्मिने गरेका छन् र त्यो भनेको जलविद्युत सेक्टर नै हो’, उनले भने, ‘अहिलेका लगानीकर्ताले छोटो समयमै नाफा निकाल्न खोज्नुले जलविद्युत सेक्टर बढी चलायमान हुन जाँदा कारोबार बढी हुन गएको हो।’

अन्य सेक्टरमा राष्ट्र बैंकको बिना सूचना हस्तक्षेप हुने गरेकोले पनि जलविद्युत सेक्टरका कम्पनीहरु लगानीकर्ताको रोजाइमा परेको पौडेल बताउँछन्। ‘जलविद्युत कम्पनीहरुको प्रायः लाभांश स्थिर हुने हुँदा पनि लगानीकर्ताहरु आकर्षित भएका हुन सक्छन्’, उनले भने।