काठमाण्डौ । सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १८.३० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०३९.५४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले घटेर ३९४.५१ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम बढेर पौने २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की बजार साइडवेजमा गएको बताउँछन्। ‘दीर्घकालीन लगानीका लागि अहिले उपयुक्त समय छ’, उनले भने, ‘धेरै कम्पनीको सेयरभाउ अहिले तल आएको छ। राम्रा कम्पनी छनोट गरी लगानीकर्ता दीर्घकालमा फाइदै हुन्छ।’

सक्रिय लगानीकर्ता सुनिल यादव लगानीकर्ताको मनोबल नबढ्दा र द्विविधामा पर्दा बजार घटेको बताउँछन्। ‘कारोबारमा सुधार हुनुले बजारले कुनै पनि बेला बाउन्स हुन सक्ने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक २.२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूहमा २.०७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३६ प्रतिशत, व्यापार समूहमा १ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५१ प्रतिशत, विकास बैंक समूहमा १.५३ प्रतिशत, जलविद्युत समूहमा १.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५६ प्रतिशत, लघुवित्त समूहमा ०.५८ प्रतिशत, जीवन बीमा समूहमा ०.६२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत र लगानी समूहमा ०.७७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ४२ लाख ३४ हजार ११७ कित्ता सेयर १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ९ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख रुपैयाँ, अरुण काबेली पावरको ७ करोड २८ लाख रुपैयाँ, राधी विद्युतको ४ करोड ८३ लाख रुपैयाँ, अपी पावरको ४ करोड १५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ९६ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ५९ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको ३ करोड ३८ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। रुरुच जलविद्युतको पनि सेयरभाउ ९ प्रतिशतको हाराहारीमा बढेको छ। 

यो दिन मैलुङखोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।