काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको छ। 

आज बजार ४७.५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.८८ अंकले घटेर ५२३.६९ को विन्दुमा ओर्लेको छ। 

यो दिन कारोबार रकम पनि पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको घटाइलाई करेक्सन नै मान्नुपर्ने बताउँछन्। असार मसान्तको प्रभाव पनि बजारमा परेको घिमिरेको भनाइ छ। ‘अन्य क्षेत्र बन्द भएकोले सेयर बजारबाटै कमाएर पैसाले ब्याज तिर्न सेयर बेचेकै कारण बजारमा करेक्सन आयो’, उनले भने। 

ठूला र संस्थागत लगानीकर्ताले नाफा बुक गर्दा बजारमा करेक्सन आएको घिमिरेको भनाइ छ। ‘बजार ३००० को विन्दु पुगेपछि सेयर बेचेर बाहिरिएका केही ठूला लगानीकर्ता अहिले मौद्रिक नीतिको प्रतिक्षामा बसेको देखिन्छ’, उनले भने, ‘त्यही भएर पनि बजारमा पहिलेजस्तो कारोबार हुन नसकेको हो। तर घट्दो बजारमा कम कारोबार हुनुलाई सकारात्मक नै लिनुपर्छ।’

नेपालको सेयर बजारमा ५ अर्ब रुपैयाँ माथिको कारोबारलाई सकारात्मक रुपमै लिनुपर्ने घिमिरेले बताए। ‘बुलिस बजारमा करेक्सन आउनै पर्छ, यसले बजार थप मजबुत हुन्छ’, उनले भने, ‘केही दिनको करेक्सनपछि बजार पुनः लयमा फर्किन्छ।’

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला छोटो समयमै बजार ठूलो फड्को मारेकोले हिजोआजको घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘बजारमा अझै १००÷१५० अंकको करेक्सन आउन सक्छ, त्यसपछि बजार फर्किन्छ’, उनले भने। 

लगानीको प्रतिफल खाने समय पनि नजिकिएकोले बजार अवश्य लयमा फर्किने बास्तोलाको भनाइ छ। ‘बुलिस बजारमा करेक्सनलाई अवसरका रुपमा सदुपयोग गर्नुपर्छ’, उनले भने, ‘अरुले भनेकै आधारमा लगानी गर्नेभन्दा पनि आफूले अध्ययन–अनुसन्धान गरेर लगानी गर्दा उचित हुन्छ।’  

सेयर बजारमा क्षणिकभन्दा पनि दीर्घकालीन सोच बनाएर लगानी गर्दा उत्तम हुने बास्तोलाको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ४.११ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.९७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०४ प्रतिशत, जलविद्युत समूहमा २.६१ प्रतिशत, लगानी समूहमा ३.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७५ प्रतिशत, अन्य समूहमा २.३५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको गिरावट आएको छ। 

आज लघुवित्त समूह भने ०.५० प्रतिशतले उकालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ५६९.२७ रुपैयाँमा किनबेच भएका छन्। 

आज राधी विद्युत कम्पनीको सर्वाधिक ४९ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २९ करोड ६७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २३ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ५३ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको १५ करोड ४६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ६५ लाख रुपैयाँ, निफ्राको १२ करोड ५० लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ओरियन्टल होटेलका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

यो दिन प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। एचआईडीसीएल र बेस्ट फाइनान्सको सेयरमूल्य पनि ८ प्रतिशत बढीले ओरालो लागेको छ।