काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। लगातार २ दिन बढेको बजारको बढाइ भने टिक्न नसकेको हो। 

बजार आज ३१.५२ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २०१३.९३ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७२ अंकले घटेर ३८५.५६ को विन्दुमा झरेको छ। कारोबार रकम भने हिजोको तुलनामा थोरै बढेको छ। 

बजार जानकार उपेन्द्र पाठक अल्पकालीन लगानीकर्ता हावी हुँदा बजारमा नाफा बुक भएको बताउँछन्। ‘दुई दिन बढेको बजारमा आज करेक्सन आएको छ, यो राम्रो पनि हो’, उनले भने, ‘किनकि बजार करेक्सन हुँदै माथि जानेछ।’

ब्याजदर घट्दो दरमा रहेको आत्तिहाल्नुपर्ने अवस्था नरहेको पाठक बताउँछन्। ‘सेयर लोन पनि सस्तो भएको छ, माग गरेको ४८ घन्टाभित्रै सेयर लोन पाइएको छ’, उनले भने, ‘त्यसैले बजार धेरै तल आउने देखिँदैन।’

केही लगानीकर्ताको मनोबल कमजोर र अपरिपक्व हुँदा बजार प्रभावित भएको पाठकको ठम्याइ छ। ‘अहिले सेयर होल्ड नगरे पछि फेरि यही सेयर महँगोमा किन्नुपर्ने अवस्था पनि आउन सक्छ’, उनले भने।

अर्का बजार जानकार अर्जुन थापा ठूलो लगानीकर्ता बेखुसी हुँदा बजार बढ्न नसकेको बताउँछन्। ‘किनकि उनीहरुले सिंगल डिजिटको ब्याजदरमा सेयर लोन खोजेका छन्’, उनले भने, ‘ठूला लगानीकर्ताहरुको पक्षमा नीति आएको छैन।’

अहिले ट्रेडर हावी हुँदा बजारको बढाइ टिक्न नसकेको थापाको भनाइ छ। ‘यद्यपि बजार २००० भन्दा तल आउँदैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.९२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.५० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८८ प्रतिशत, विकास बैंक समूहमा २.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७७ प्रतिशत, लगानी समूहमा १.२४ प्रतिशत, जीवन बीमा समूह २.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२३ प्रतिशत, लघुवित्त समूहमा १.५० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२२ प्रतिशत, अन्य समूहमा १.११ प्रतिशत र व्यापार समूहमा १.४८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका ४६ लाख ५७ हजार १३७ कित्ता सेयर १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक ७ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ५ करोड १६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड १५ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ३ करोड ३२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १ लाख रुपैयाँ, एसियन लाइफको २ करोड ८४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ५७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन मोलुङ होइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।