काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १९.४२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९६७.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५ अंकले घटेर ३७९.१४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब १३ करोड रुपैयाँको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) भोलुमले सपोर्ट नगर्दा बजार घटेको बताउँछन्। ‘हिजो बजार बढ्दा पनि भोलुम बढेको थिएन’, उनले भने, ‘यसले लगानीकर्तामा अझै मनोबल बढ्न नसकेको प्रस्ट हुन्छ।’

अहिले बजारमा ट्रेडर हावी रहेको कोइराला बताउँछन्। ‘सेयरभाउ अलिकति बढ्नेबित्तिकै सेयर बेचिहाल्ने प्रवृत्ति बढेको छ’, उनले भने।

बजारमा अझै ठूला लगानीकर्ता प्रवेश गरिनसकेको पनि कोइराला बताउँछन्। ‘किनकि उनीहरुको राणनीति बजार घटाएर राष्ट्र बैंकलाई घुँडा टेकाउने पनि हुन सक्छ’, उनले भने। 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको बजार घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘किनकि हिजो र अस्ति बजार बढेको थियो’, उनले भने।

बजार दिगो रुपमा माथि नै जान नीतिगत व्यवस्थामा परिमार्जन हुन आवश्यक रहेको घिमिरेको भनाइ छ। ‘विशेषगरी सेयर लोनमा १२ करोड सीमा नहटेसम्म र जोखिम भार नघटेसम्म बजार माथि जाने देखिँदैन’, उनले भने, ‘किनकि यी नीतिका कारण ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न हिच्किचाइरहेका छन्।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.९८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूहमा १.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा १.४४ प्रतिशत, जलविद्युत समूहमा १.५६ प्रतिशत, लगानी समूहमा १.३१ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, लघुवित्त समूहमा १.४० प्रतिशत, निर्जीवन बीमा समूहमा १.४० प्रतिशत, अन्य समूहमा ०.२४ प्रतिशत र व्यापार समूहमा ०.७८ प्रतिशतको गिरावट आएको छ। 

आज म्युचुअल फन्ड समूह मात्रै ०.०४ प्रतिशतले उकालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५.५१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल एसबीआई बैंकको सर्वाधिक ७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँ, आईएमई लाइफको ३ करोड २९ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ९८ लाख रुपैयाँ, एसटीसीको २ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ४६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २ करोड २३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन शुभम पावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज थ्री स्टार हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।