काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। 

बजार आज १८.४५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२२.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.५६ अंकले बढेर ३८६.२४ को विन्दुमा पुगेको छ। कारोबार पनि हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ माथिको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) सेयर लोनमा १२ करोडको क्याप हट्ने लगभग पक्काजस्तै भएकोले बजार सकारात्मक बनेको बताउँछन्। ‘यो कुराले लगानीकर्ताको मनोबल बढ्दा बजार पनि बढेको हो’, उनले भने। 

अहिले सस्तोमै सेयर बेच्न नचाहँदा पनि बजारमा सुधार देखिएको कोइरालाले बताए। ‘बजार घट्ने र बढ्ने सामान्य हो’, उनले भने, ‘अब सबैतिर सकारात्मक महौल बनेमा बजार बढ्ने नै हो।’

अर्का बजार जानकार  मुक्तिबहादुर खत्री बजार दुई दिन घटेकोले आज बढेको बताउँछन्। ‘यतिबेला बजार बढ्ने सिजन पनि हो’, उनले भने, ‘तर, बजारको दिगो बढाइका लागि सकारात्मक महौल बन्नैपर्छ।’

अर्थतन्त्रमा सुधार भइरहेकैले बजार अब २००० भन्दा तल नजाने पनि खत्रीको भनाइ छ। ‘ठूला लगानीकर्ता प्रवेश गरेमा बजारले लय समात्ने देखिन्छ’, उनले भने।  

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ३.०९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.४४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१६ प्रतिशत, विकास बैंक समूहमा ०.५१ प्रतिशत, लगानी समूहमा १.११ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशत, अन्य समूहमा ०.८५ प्रतिशत र व्यापार समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह ०.१८ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ८७ लाख ४ हजार ४७७ कित्ता सेयर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सन नेपाल लाइफको ७ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिलायबल नेपाल लाइफको ७ करोड १३ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ९८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ५ करोड ७१ लाख रुपैयाँ, नागरिक लगानी कोषको ५ करोड २० लाख रुपैयाँ, अपी पावरको ४ करोड ६८ लाख रुपैयाँ, घोराही सिमेन्टको ३ करोड २३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ करोड २२ लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। मन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा शुभम पावर, मोलुङ हाइड्रोपावर, स्वाभिमान लघुवित्त र घलेम्दी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन हिमालयन लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।