काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १३.१८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६४.६२ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ अंकले बढेर ३५८.८३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) आज ब्याजदर घट्दा बजार सामान्य बढेको बताउँछन्। ‘बजार बढ्नलाई आवश्यक सबै विषयवस्तु पुगेका छन्’, उनले भने, ‘यद्यपि बजार अझै खुलेर बढ्न सकेको छैन। किनकि बजारमा ओभर सप्लाई कायमै छ।’

धितोपत्र बोर्डको बदमासीका कारण बजारमा ओभर सप्लाई भइरहेको कोइरालाको भनाइ छ। ‘बुक बिल्डिङ विधिबाट मात्रै आईपीओ ल्याउने व्यवस्था नआएसम्म ओभर सप्लाई रोकिँदैन’, उनले भने। 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे धेरै दिन घटेको बजार आज सम्हालिएको बताउँछन्। ‘ब्याजदर घट्दा पनि बजार सम्हालिएको हो’, उनले भने, ‘यद्यपि इन्डस्ट्री एभरेज २९ पैसाले मात्रै घटेको छ।’

अझै १–२ पटक ब्याजदर घटेपछि मात्रै लगानीकर्ता विश्वस्त हुने वातावरण सिर्जना हुने घिमिरेको तर्क छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.३० प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह १.१० प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.२६ प्रतिशत, जलविद्युत समूहमा ०.७९ प्रतिशत, लगानी समूहमा ०.४५ प्रतिशत, जीवन बीमा समूहमा ०.९० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२१ प्रतिशत, लघुवित्त समूहमा ०.८१ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०६ प्रतिशत र अन्य समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.२५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ३८ लाख १३ हजार २३३ कित्ता सेयर १ अर्ब ८४ लाख ३७ हजार ८६१ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हाथवे इन्भेस्टमेन्टको सर्वाधिक ४ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको २ करोड ९८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २ करोड १६ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ९ लाख रुपैयाँ, आईएमई लाइफको २ करोड १ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको १ करोड ९२ लाख रपैयाँ, एसटीसीको १ करोड ८७ लाख रुपैयाँ र घोराही सिमेन्टको १ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज श्वेतगंगा हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन हाथवे इन्भेस्टमेन्टका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।