काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १९.१२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले बढेर ५२८.७९ को विन्दुमा पुगेको छ। आज कारोबार रकम पनि बढेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार प्रेम ओली आजको बढाइले बजारमा लगभग करेक्सन सकिएको अनुमान गर्न सकिने बताउँछन्। ‘अब बजार विस्तारै माथि जान्छ’, उनले भने, ‘प्राविधिक रुपले पनि बजार बढ्ने देखिन्छ।’
ओलीले नाफा बुक गर्नेहरुले गरिसकेको र संस्थागत लगानीकर्ताहरु पनि बजार प्रवेश गर्ने तरखरमा रहेकोले बजार बढ्ने सम्भावना रहेको बताए। ‘बजार कति बलियो छ भन्ने कुरा अब अर्को साताभरिको कारोबारबाट अनुमान गर्न सकिन्छ’, उनले भने।
अन्य क्षेत्रहरु अझै राम्ररी खुलिनसकेकोले सेयर बजारमै अवसर रहेको ओलीको भनाइ छ।
बजार जानकार प्रकाश रजौरे आजको बढाइले बजार आगामी दिनमा माथि नै जाने सम्भावनालाई संकेत गरेको बताउँछन्। ‘यद्यपि केही दिनको बजारको मुभलाई हेरेरमात्र बजारको आगामी यात्राको अनुमान गर्न सकिन्छ’, उनले भने।
अब बैंकिङ समूह बढ्ने सम्भावना रहेको पनि रजौरेको अनुमान छ। ‘बैंकिङ सेक्टरमा करेक्सन आएमात्र अब बजारमा करेक्सन आउने सम्भावना छ’, उनले भने।
बजारमा ठूलो करेक्सन आउने सम्भावना नरहेको रजौरे बताउँछन्। ‘बजार घट्दैमा आत्तिनुपर्ने अवस्था छैन’, उनले भने, ‘बजार विस्तारै बढ्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.४८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.६४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.१६ प्रतिशत, वित्त समूहमा ३.०४ प्रतिशत, जलविद्युत समूहमा ०.७५ प्रतिशत, लगानी समूहमा ०.६० प्रतिशत, जीवन बीमा समूहमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, लघुवित्त समूहमा ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत, अन्य समूहमा १.७४ प्रतिशत र व्यापार समूहमा ०.५३ प्रतिशत बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूह भने ०.०६ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४.१४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेको इन्सुरेन्सको सर्वाधिक ३० करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको आज मेगा बैंकको १८ करोड २४ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको १६ करोड ६० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ४० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १२ करोड २९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ११ करोड ७५ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७२ लाख रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकको ११ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ओरियन्टल होटेलका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यसैगरी गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, सूर्योदय लघुवित्त र नेसनल हाइड्रोपावरको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago