काठमाण्डौ । सेयर बजार ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।
धितोपत्र कारोबार हुने साताको चौथो दिन बजार १६.९७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८०१.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५ अंकले घटेर ५२५.२५ को विन्दुमा समेटिएको छ। कारोबार रकम साढे ४ अर्ब बढीको भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्टले बुलिस बजारमा सामान्य गिरावट आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘आर्थिक रुपमा सबै सकारात्मक छ’, उनले भने, ‘अहिले बजार स्थिरजस्तो देखिएको छ, किन्ने मौका छ, साउनबाट बजार बढ्छ।’
मौद्रिक नीति सेयर बजारमैत्री आउने उल्लेख गर्दै बिष्टले सेयर धितो कर्जाको सीमा पनि फेरबदल हुने सम्भावना नरहेको बताउँछन्। ‘अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा बसेको जस्तो देखिन्छ’, उनले भने, ‘त्यसैले ठूला लगानीकर्ताले सेयर उठाइरहेका छैनन्, साना र नयाँ लगानीकर्ताले पनि घटेर बेच्नुभन्दा होल्ड गर्नु नै उपयुक्त ठानेर नबेची बसेका छन्।’
यिनै कारणले कारोबार रकम ५ अर्ब रुपैयाँकै आसपासमा झरेको बिष्टको भनाइ छ। ‘तर ठूलो उतारचढाव नभएको बजारमा यत्तिको कारोबार हुनु पनि सकारात्मक नै हो’, उनले भने।
बिष्ट बजार घटेर २७५० को विन्दुमा आउने सक्ने अनुमान गर्छन्। ‘त्यहाँभन्दा तल बजार जाँदैन होला’, उनले भने, ‘त्यसपछि बजार फर्किन्छ।’
सक्रिय लगानीकर्ता रोहन कार्की बजार अझै केही दिन साइडवेजमा रहने बताउँछन्। ‘तर बजार धेरै तल जाने सम्भावना छैन’, उनले भने, ‘सम्भवतः बजार साउनको पहिलो साताबाटै बजार फर्किने देखिन्छ।’
अहिले सबैको ध्यान मौद्रिक नीतिमै रहेका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेको हुन सक्ने कार्कीको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह ०.३८ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.२६ प्रतिशतले उकालो लागेको छ।
आज जलविद्युत समूह सर्वाधिक २.१६ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.१३ प्रतिशतले घटेको यो दिन होटेल तथा पर्यटन समूहमा २.०३ प्रतिशत, बैंकिङ समूहमा ०.१९ प्रतिशत, वित्त समूहमा १.५४ प्रतिशत, लगानी समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा ०.४४ प्रतिशत, म्युचुल फन्ड समूहमा ०.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०३ प्रतिशत, अन्य समूहमा ०.८३ प्रतिशत र व्यापार समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६.२१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन छिमेक लघुवित्तको सर्वाधिक ४३ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २६ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १३ करोड ९८ लाख रुपैयाँ, नेपाल टेलिकमको ११ करोड ६९ लाख रुपैयाँ, निफ्राको १० करोड ९३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ४० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९ करोड ५३ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ८ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरमूल्य ३ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन माथिल्लो तामाकोशी र युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीका सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19