काठमाण्डौ । लगातार घटेको बजार धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले उकालो लागेर बन्द भएको छ।
यो साता लगातार ४ दिन घटेको बजार आज २३.९७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२५.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले बढेर ५२९.६६ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि पौने ५ अर्बभन्दा बढीको भएको छ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट आजको बढाइले बजारमा करेक्सन सकिन लागेको संकेत गरेको बताउँछन्। ‘बजारमा लगभग सेलिङ प्रेसर सकिएको जस्तो छ’, उनले भने, ‘संस्थागत लगानीकर्ताहरुले धमाधम सेयर बेचिरहेका थिए, अब लगभग उनीहरुले बेचिसकेको जस्तो देखिन्छ।’
आज बजार बढेकोले आगामी साता सुखद् हुन सक्ने अनुमान पनि गर्न सकिने रानाभाट बताउँछन्। ‘मौद्रिक नीति आएपछि पनि बजारले थप गति लिन सक्छ’, उनले भने, ‘अब लगानीकर्ताहरु पनि आकर्षक लाभांश घोषणा गर्ने र छिटै एजीएम गरेर लाभांश वितरण गर्ने कम्पनीहरुमा लाग्न सक्छन्।’
बजार जानकार मुक्तिबहादुर खत्री पनि आजको बढाइले बजारमा असर महिनाको प्रभाव लगभग सकिएको संकेत गरेको बताउँछन्। ‘ब्याज तिर्नुपर्नेलगायतका कारण बजारमा सेलिङ प्रेसर थियो, त्यो लगभग सकिएजस्तो छ’, उनले भने।
अब अन्तिम त्रैमासको रिपोर्ट आउने र धमाधम लाभांश घोषणा गर्ने समय पनि नजिकिएकोले बजारले लय समात्ने खत्रीको तर्क। ‘अहिलेका अर्थमन्त्री पनि पुँजी बजारप्रति सकारात्मक नै छन्’, उनले भने, ‘सरकारको विकास खर्च पनि बढेको छ, बैंकको निक्षेप पनि बढ्दै गएकोले तरलता सहज बन्दै गएको छ। ब्याज तत्काल बढ्ने सम्भावना नभएकोले सेयर बजार सकारात्म नै रहने अनुमान गर्न सकिन्छ।’
तत्कालै अन्य क्षेत्र फस्टाउने सम्भावना कम रहेकोले सेयर बजारमै लगानी भित्रिन सक्ने खत्रीको अनुमान छ। ‘मौद्रिक नीतिको प्रतीक्षामा पर्ख र हेरको अवस्थामा रहेका ठूला लगानीकर्ताहरु पनि अब बजार प्रवेश गर्ने तयारीमा छन्’, उनले भने, ‘त्यसैले बजारले छिटै लय समात्छ।’
समग्रमा बजार बुलिस नै रहेकोले लगानीकर्ताहरुले सोचविचार गरेर राम्रा र बलिया कम्पनीमा लगानी गर्नु उपयुक्त हुने रानाभाटको सुझाव छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.०९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह २.१२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.९३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.९४ प्रतिशत, लगानी समूहमा १.१५ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३६ प्रतिशत, लघुवित्त समूहमा १.३३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ। यो दिन अन्य र व्यापार समूह दुवै ०.५५ प्रतिशतले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४.१५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल बैंकको सर्वाधिक २१ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १६ करोड ७९ लाख रुपैयाँ, निफ्राको १३ करोड ९९ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ८६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ११ करोड २ लाख रुपैयाँ, सिटिजन बैंकको १० करोड ५ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको ९ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीको बढोत्तरी भएको छ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19