काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार १६.३४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८७१.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७४ अंकले बढेर ५३९.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको बढाइले बजार सम्हालिएर अगाडि बढिरहेको संकेत मिलेको बताउँछन्। ‘हिजोको राजनीतिक घटनाक्रमबीच चलेका विभिन्न नकारात्मक हल्लाले बजार प्रभावित भयो, नत्र सुरुआती चरणमा बढेको बजार एक्कासि तल आउने थिएन’, उनले भने, ‘अबको बढाइले बजार घटाउने खेल असफल भएको देखिन्छ । अब बजार आफ्नै ढंगले अगाडि बढ्छ।’
अबको सरकारका अर्थमन्त्री पनि पुँजीबजारप्रति सकारात्मक नै रहेछन् भन्ने अनुमान लगाउन सकिने ढकाल बताउँछन्। ‘अब सेयर बजारमा राजनीतिको छाया पर्दैनजस्तो लाग्छ’, उनले भने, ‘बजार आफ्नै ढंगले अगाडि बढ्छ।’
मौद्रिक नीति पनि सेयर बजार अनुकूल नै आउने निश्चित रहेको ढकालको भनाइ छ। ‘मौद्रिक नीतिमा बजारलाई प्रभावित पार्ने कुनै पनि नीति आउने सम्भावना छैन’, उनले भने।
बैंकका आधार दर तत्काल बढ्ने सम्भावना नरहेकोले ब्याजदर पनि परिवर्तन नहुने ढकाल बताउँछन्। ‘त्यसैले सबैतिरबाट बजार सकारात्मक छ, लगानी गर्दा सचेत हुनमात्र आवश्यक छ’, उनले भने।
बजार जानकार गोविन्दप्रसाद घिमिरेले आजको बढाइले बजारमा राजनीतिको प्रभाव पर्दैन भन्ने प्रस्ट भएको बताए। ‘हिजो हल्लाकै भरमा बजार घटाउने काम भयो’, उनले भने, ‘आज बढाइले बजार सकारात्मक नै रहेको देखिन्छ।’
असार मसान्तका बेला ५ अर्ब माथिको कारोबार हुनुलाई सुखद् नै मान्नुपर्ने घिमिरेको तर्क छ। ‘अब साउनबाट बजार बढ्ने नै छ’, उनले भने।
लाभांश खाने समय पनि नजिकिएकोले बजारमा पुनः चमक आउने घिमिरेको भनाइ छ। ‘सरकारमा जोसुकै अर्थमन्त्री बनेर आएर पनि बजारलाई खास फरक पर्दैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको भने एउटामा मात्रै रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.०३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.५४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.७३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५४ प्रतिशत, जलविद्युत समूहमा ०.५० प्रतिशत, लगानी समूहमा ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१६ प्रतिशत, अन्य समूहमा ०.४१ प्रतिशत, व्यापार समूहमा ०.२३ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन जीवन बीमा समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४.१० रुपैयाँमा किनबेच भएको छ।
यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक ४५ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १९ करोड ९५ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ३० लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँ, निफ्राको १२ करोड ५१ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १२ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ८७ लाख रुपैयाँ र ज्योति विकास बैंकको १० करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज वित्त कम्पनीहरुका सेयरधनीहरुले धेरै कमाएका छन्। यो दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आईसीएफसी फाइनान्सका सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन सीईडीबी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19