काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १३.८० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९४.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ५६०.७२ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि पौने १२ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको बजारको बढाइलाई स्वाभाविक रुपमै लिनुपर्ने बताउँछन्। ‘बजार अझै बढ्न बाँकी नै छ’, उनले भने। 

ढकालले बजार बढ्ने केही आधारहरु पनि प्रस्तुत गरेका छन्। ‘देशमा २ वर्ष स्थायी सरकार हुनेछ, छिटै स्थानीय तहको चुनाव पनि हुँदैछ’, उनले भने, ‘अर्कोतर्फ कम्पनीहरुको गत आर्थिक वर्षको अन्तिम त्रैमास रिपोर्टहरु धमाधम आउँदैछन्, जुन सकारात्मक नै आउने देखिन्छ।’

यसैगरी बैंकहरुको आधार दर घट्दा ऋणको ब्याजदर पनि घट्ने भएकोले यो सेयर बजारका लागि सकारात्मक हुने ढकालको भनाइ छ। ‘अहिले अनलाइनबाटै कारोबार गर्ने लगानीकर्ताहरुको संख्या धेरै छ, देशविदेशबाट लगानी भित्रिरहेको छ’, उनले भने, ‘यिनै कारणले पनि बजार अझै बढ्ने सम्भावना छ।’

अझै २ वर्ष बजार बुलिस नै रहने ढकालको भनाइ छ। ‘बीचमा सातातिना करेक्सन आउलान्, ती करेक्सनले बजार थप मजबुत बन्दै जाने निश्चित छ’, उनले भने, ‘तर अब बजारमा ठूलो गिरावट आउँदैन।’ 

सक्रिय लगानीकर्ता प्रकाश रजौरे हिजो र आजको बढाइले बजार थप मजबुत बन्दै गएको देखिएको बताउँछन्। ‘हिजो र आजको बजार हेर्ने हो भने बैंकिङ सेक्टर चलेकोले बजारको यो बढाइ स्थायित्व हुने देखिन्छ’, उनले भने। 

केही दिनमा बजारमा सामान्य करेक्सन आउन सक्ने उल्लेख गर्दै रजौरेले करेक्सनपछि बजार पुनः लयमा फर्किने र यसअघि अल टाइम हाई रेकर्ड ब्रेक हुने पनि अनुमान गरे। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ५.२२ प्रतिशतले उकालो लागेको छ। लगानी समूह १.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.५१ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.७८ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक १.१७ प्रतिशतले ओरालो लागेको छ। होटल तथा पर्यटन समूह ०.४४ प्रतिशतले घटेको यो दिन विकास बैंक समूहमा ०.४० प्रतिशत, जलविद्युत समूहमा ०.०५ प्रतिशत र लघुवित्त समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६.६० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ३५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३३ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको ३० करोड ९६ लाख रुपैयाँ, सिनर्जी पावरको २८ करोड ९९ लाख रुपैयाँ, एनएमबी बैंकको २७ करोड ६३ लाख रुपैयाँ, अरुण काबेली पावरको २७ करोड ३६ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २५ करोड ९५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २४ करोड ७१ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सिनर्जी पावर कम्पनीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरी भएर पोजिटिभ सर्किट नै लाग्यो। विशाल बजार कम्पनीको सेयरभाउ पनि आज ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।