काठमाण्डौ । धितोपत्र करोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकको करेक्सन आएको छ।
आज बजार १८.२४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक ३१८०.७८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३३ अंकले घटेर ५९०.१५ को विन्दुमा समेटिएको छ। कारोबार रकम साढे २० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार आजको बजारलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताए। ‘बजार घटे पनि कारोबार रकम २० अर्ब माथि नै भएको छ, यसले बजार सकारात्मक नै रहेको देखाउँछ’, उनले भने।
रौनियारले लगानीकर्ताहरुले आज सेक्टर परिवर्तन गरेको देखिएको बताए। ‘केही दिनदेखि जलविद्युतमा झुम्मिएका लगानीकर्ताहरु आजबाट बीमा कम्पनीहरुतिर लागेको देखिएको छ’, उनले भने, ‘आज जलविद्युतमा प्रफिट बुक गर्दा पनि बजारमा करेक्सन आएको हो।’
आगामी दिनमा बजार सकारात्मक नै रहने रौनियारको तर्क छ। ‘बजार बुलिस ट्रेन्डमै रहेको छ’, उनले भने, ‘पुँजी बजारको सफल यात्रा चलेकै देखिन्छ।’
लाभांश खाने समय भएकोले पनि तत्काल आत्तिनु वा डराउनुपर्ने अवस्था नरहेको रौनियारको भनाइ छ। ‘अब नबढेको क्षेत्र बढेर बजारले नयाँ–नयाँ कीर्तिमान गर्छ’, उनले भने।
रौनियारले अहिलेको बजारमा राम्रा र बलिया कम्पनीहरुमा सचेत भएर लगानी गर्न सुझाव दिए।
सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी पनि लामो समय बजार बढेकाले आज करेक्सन आएको र यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। अघिल्लोपटक बढेका क्षेत्रमा आज करेक्सन आउनु, नबढेको क्षेत्र बढ्नु, कारोबार पनि २० अर्ब बढीको हुनुले बजार समग्रमा सकारात्मक नै रहेको अधिकारीको भनाइ छ। ‘आज विद्युत नियमन निकायले लगानीकर्तालाई भ्रम नहुने गरी सत्यतथ्य सूचना सार्वजनिक गर्न भन्दै जलविद्युत कम्पनीहरुमा सचेत गराएकै कारण यो समूहमा गिरावट आयो’, उनले भने।
सेयर कर्जाको अवस्था सहजै रहनु र पुरानै ब्याजदर ऋण पाउनुले पनि बजार सकारात्मक नै हुने अधिकारीको भनाइ छ। ‘कारोबारले साथ दिइरहेकोले डराउनुपर्ने अवस्था छैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.२ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.६४ प्रतिशतले बढेको आज व्यापार समूहमा ०.४९ प्रतिशत, अन्य समूहमा १.६८ प्रतिशत र लघुवित्त समूहमा ०.८५ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन लगानी समूह सर्वाधिक ३.९९ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.१८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.९३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८३ प्रतिशत, विकास बैंक समूहमा २.५८ प्रतिशत, वित्त समूहमा २.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँमा किनबेच भएको छ।
यो दिन अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोको ८३ करोड ३२ लाख रुपैयाँबराबरको करोबार भएको आज रिडी हाइड्रोको ५७ करोड ९८ लाख रुपैयाँ, एचआईडीसीएलको ४८ करोड ६९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४२ करोड ६१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४२ करोड ४८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३९ करोड ५० लाख रुपैयाँ, ज्योति विकास बैंकको ३६ करोड ९७ लाख रुपैयाँ र अपी पावरको ३६ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज जीवन विकास लघुवित्तका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन रिडी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ।
यो दिन ३ वटा हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। एचआईडीसीएल, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ। यो दिन ङादी ग्रुप पावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago