काठमाण्डौ । सेयर बजार आज बुधबार पनि दोहोरो अंकले घटेको छ।

बजार आज ४८.४२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०७६.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.६७ अंकले घटेर ५६८ को विन्दुमा ओर्लेको छ। आज कारोबार १२ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल बजारमा आज पनि करेक्सन नै आएको बताउँछन्। ‘थोरै करेक्सन भएर बजार माथि जान्छ’, उनले भने, ‘त्यसैले हिजो र आजको बजार घटाइलाई सामान्य रुपमा लिनुपर्छ।’

बजारमा १२ अर्ब बढीको कारोबारलाई सकारात्मक रुपमै लिनुपर्ने ढकालको तर्क। ‘बजार घट्यो भनेर डराउनुपर्ने अवस्था छैन’, उनले भने। 

सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँका कारण बजारमा केही प्रभाव परेको ढकालको भनाइ छ। ‘यो अधिकतम सीमाले ९० प्रतिशतभन्दा बढी लगानीकर्ता प्रभावित हुँदैनन्, संस्थागत लगानीकर्ता सबै ऋणमा लगानी गरेका हुँदैनन्, उनीहरुको आफ्नो पुँजी पनि हुन्छ’, उनले भने, ‘त्यसैले यही कारणले बजारमा ठूलो प्रभाव भने पर्दैन।’

बैंकमा प्रशस्त पैसा, तरलता संकट आइहाल्ने अवस्था पनि नरहेको र लगानीका अन्य क्षेत्रमा सुस्ताएको अवस्थामा सेयर बजारको विकल्प नभएकोले लगानीकर्ताहरु डराइहाल्नुपर्ने स्थिति नरहेको ढकालले बताए। ‘तर बजारमा सुझबुझका साथ लगानी गर्दा नै उचित हुन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेले पनि राष्ट्र बैंकको परिपत्रमा सेयर धितो कर्जामा अधिकतम १२ करोड रुपैयाँको सीमाले बजार केही प्रभावित भएको बताए। ‘छोटो समयमै बजारले ठूलो फड्को मारेकोले करेक्सनको पनि आवश्यक थियो’, उनले भने, ‘अब बजार केही दिन साइडवेजमा जान सक्छ तर पछि बजार माथि नै जाने हो।’

लाभांशको समय भएकोले प्रतिफलका आधारमा कम्पनीहरु छानेर लगानी गर्दा उचित हुने न्यौपानेले बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २.८३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.८२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.४३ प्रतिशत, वित्त समूहमा ०.६७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४३ प्रतिशत, जलविद्युत समूहमा ०.३७ प्रतिशत, लगानी समूहमा १.९६ प्रतिशत, जीवन बीमा समूहमा १.९० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.४० प्रतिशत, लघुवित्त समूहमा ०.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०८ प्रतिशत, अन्य समूहमा १.६० प्रतिशत र व्यापार समूहमा १.०८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०३.५ रुपैयाँमा किनबेच भएका छन्।

आज अरुण काबेली पावरको सर्वाधिक ४८ अर्ब ७१ करोड रुपैयाँ बढी कारोबार भएको छ। रिडी हाइड्रोपावरको ४८ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ७१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३६ करोड २८ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३५ करोड ९७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २९ करोड ४५ लाख रुपैयाँ, अपी पावरको २७ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २३ करोड ७२ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको २२ करोड ८१ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्सको २२ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा आईसीएफ फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन माउन्टेन इनर्जीको सेयरमूल्यमा पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन खानीखोला हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लागेको छ।