काठमाण्डौ । लगातार २ दिन घटेको सेयर बजार धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले उकालो लागेको छ।

बजार आज १७.६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०९४.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४६ अंकले बढेर ५७१.४६ को उचाइ पुगेको छ। कारोबार रकम पनि आज बढेर साढे १३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार दुई दिनको करेक्सनपछि बजार फर्केको बताउँछन्। ‘हकप्रद र बोनस सेयरका कारण लगानीकर्ता जलविद्युतमा फेरि आकर्षित भएका छन्’, उनले भने। 

कोभिडका कारण अन्य क्षेत्रमा खासै राम्ररी चल्न नसकेका कारण सेयर बजारमा लगानीकर्ताहरु भित्रिएका कारण बजार सकारात्मक नै हुने रौनियारले बताए। ‘अहिले ठूलो संख्यामा लगानीकर्ता सेयर बजारमा भित्रिएका छन्’, उनले भने, ‘कारोबार रकमले पनि साथ दिइरहेकोले बजार सकारात्मक नै रहेको देखिन्छ।’

ब्याजदर न्यून रहनु, तरलता पनि सहज रहनु र लगानीकर्ताको मनोबल बढ्दै गएकोले पनि बजार सकारात्मक नै हुने रौनियारको भनाइ छ। ‘अहिले सानाठूला लगानीकर्तालाई ऋणको दबाब छैन’, उनले भने।

बजार जानकार मेघनाथ निरौला बजार केही दिनको करेक्सनपछि आजबाट फर्किएको बताउँछन्। ‘अहिलेको करेक्सन लगभग पूरा भएको छ’, उनले भने, ‘अब बजार ३४०० को विन्दु पुगेपछि मात्रै ५०–१०० अंकको करेक्सन आउने सम्भावना छ।’

आज जलविद्युतमा आकर्षण बढेको देखिएको उल्लेख गर्दै निरौलाले राम्रा र बलिया जलविद्युत कम्पनीका सेयर उठाउँदा फाइदै हुने बताए। ‘समग्रमा बजार सकारात्मक र मजबुत नै छ’, उनले भने, ‘अब विस्तारै बैंकले पनि गति लिन्छ।’

बैंकहरुको तरलता सहज नै रहेको निरौला बताउँछन्। ‘किनकि अझै पनि बैंकहरुसँग १६२ अर्ब रुपैयाँ तरलता छ’, उनले भने, ‘सामान्य रुपमा ब्याजदर बढ्दैमा बजारलाई खासै असर गर्दैन। किनकि ब्याजदरभन्दा सेयर बजारमा प्रतिफल बढी छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ५.०८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ४.१७ प्रतिशतले बढेको आज वित्त समूहमा ३.८२ प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत र होटेल तथा पर्यटन समूहमा ०.३३ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.४१ प्रतिशतले घटेको आज लगानी समूहमा ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत, अन्य समूहमा ०.३३ प्रतिशत र व्यापार समूहमा ०.३० प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९१.५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ९३ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ४५ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी हाइड्रोपावरको ३४ करोड ५६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २९ करोड ९५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको २८ करोड ६६ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको २७ करोड ५४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २४ करोड ३९ लाख रुपैयाँ, अपी पावरको २४ करोड १८ लाख रुपैयाँ र नबिल बैंकको २३ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ११ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेस्मेन्ट फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा खानीखोला जलविद्युत, सिनर्जी पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज माउन्टेन इनर्जी, मल्टीपर्पस फिनान्स र रिलायन्स फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।

आज एलआईसी नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेको छ।