काठमाण्डौ । लगातार ओरालो लागिरहेको सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ।

बजारमा आज ५०.५८ अंकको बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २६६५.९३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले बढेर ५०३.४६ को विन्दुमा पुगेको छ। कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल स्टक हाउसका सञ्चालक ईश्वरी रिमाल लगातार बजार घटेकोले आज बढेको बताउँछन्। ‘कारोबार बढेको छैन, त्यसैले बजारको मुभ अझै केही दिन हेर्नुपर्छ’, उनले भने, ‘माथिल्लो विन्दुमा किनेकाहरुले घटेको बजारमा पुनः सेयर खरिद गरेर एभ्रेजिङ गर्दा आज बजार बढेको हो।’

अझै केही दिन करेक्सन भएर साइडवेजमा गएपछि मात्र बजार माथि जाने सम्भावना रहेको रिमालको अनुमान छ। ‘बजार बुलिस ट्रेन्ड सकिएको छैन’, उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन।’

रिमालले वित्त, विकास बैंक र लघुवित्तमा नयाँ लगानीकर्ता प्रवेश गर्दा बजार बढेको पनि मान्न सकिन्छ। ‘किनकि नयाँ लगानीकर्ताले जोखिम कम आँकलन गर्छन्’, उनले भने, ‘मार्केट मुभरलाई पनि यिनै क्षेत्रका स्क्रिप्ट सहज हुने हुँदा बजारमा बढोत्तरी आउने गर्छ।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने लामो समयको करेक्सनपछि आज बजार बढेको बताउँछन्। ‘यद्यपि बजार पहिलेकै उचाइमा पुग्न समय लाग्ने देखिन्छ’, उनले भने।

यदि भविष्यमा सकारात्मक समाचार आयो भने र लगानीकर्ता सेन्टिमेन्टमा परिवर्तन आएको भने बजारले गति लिन सक्ने न्यौपानेको तर्क छ। ‘अब बजारको बाटो नियामकको कामकारबाहीले नै तय गर्छ’, उनले भने। 

आज बढाइले लगानीकर्ताहरु केही राहात भने अवश्य भएको न्यौपाने बताउँछन्। ‘केही दिन बजार २६०० देखि ३००० कै विन्दुको बीचमा रहने न्यौपानेको अनुमान छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.८७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ४.२२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.०९ प्रतिशत, व्यापार समूहमा २.५७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा ३.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२५ प्रतिशत, उत्पादन तथा प्रशोधनमा १.६४ प्रतिशत, अन्य समूहमा २.५ प्रतिशत, लघुवित्त समूहमा १.७९ प्रतिशत, जीवन बीमा समूहमा १.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५९ प्रतिशत र लगानी समूहमा २.३२ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अपी पावरको सर्वाधिक २२ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १८ करोड ५९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको १६ करोड ५२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १५ करोड ३४ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १३ करोड ८२ लाख रुपैयाँ, मेगा बैंकको १३ करोड ७६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड १७ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७५ लाख रुपैयाँ र नेसनल हाइड्रोको ११ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अपी पावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। हिमालयन ऊर्जा, छ्याङ्दी हाइड्रोपावर र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन मेगा बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।