काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार पुनः ओरालो लागेको छ।

लगातार घटिरहेको बजार बुधबार उकालो लागेको थियो। तर, आज पुनः ३२.५१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६३३.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेर ४९७.०५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँको हाराहारीमात्र मात्रै भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे ठूला र संस्थागत लगानीकर्ताले पर्ख र हेरको नीति अवलम्बन गर्दा कारोबार रकम घट्नुका साथै परिसूचकमा गिरावट आएको बताउँछन्। ‘आगामी दिनमा सरकारको नीति र ब्याजदरको अवस्था के होला भनेर उनीहरु कुरिरहेको जस्तो देखिन्छ’, उनले भने, ‘किनकि उनीहरु हचुवाका भरमा लगानी गर्दैनन्। अहिले बजारमा साना लगानीकर्ताहरुले मात्र खरिदबिक्री गरिरहेकोजस्तो देखिन्छ।’

सरकारले यसअघिको नीतिहरुमा केही परिमार्जन गरेमा बजारले गति लिन सक्ने पनि घिमिरे बताउँछन्। 

सक्रिय लगानीकर्ता लक्ष्मण श्रेष्ठ लगानीकर्ताहरुले सस्तो सेयर बेच्न नचाहेका कारण बजार कारोबार घटेको बताउँछन्। ‘बजार घट्नु र बढ्नु स्वाभाविक हो’, उनले भने, ‘तर अघिल्लो बुलको १८८१ को विन्दुमा रहेको बैंकहरुको भाउ अझै आएको छैन, त्यसैले बैंकहरुमा उछाल आएसँगै वास्तविक बुल आउँछ।’

दसैँअघिसम्म बजार साइडवेजमै रहने अनुमान गर्दै श्रेष्ठले आउँदो कात्तिकबाट लयमा फर्किन सक्ने बताए। वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुको भाउ बढ्दा सेयर बजारमा जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले लगानीकर्ताहरुलाई कम्पनीहरुका आधारभूत पक्ष अध्ययन गरेरमात्र लगानी गर्न पनि सुझाव दिए। 

आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३.९२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.२७ प्रतिशतले बढेको आज म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशतको बढोत्तरी भएको छ।

आज विकास बैंक समूह ३.१८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.९८ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४१ प्रतिशत, जलविद्युत समूहमा २.८४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६१ प्रतिशत, लघुवित्त समूहमा ०.७६ प्रतिशत, जीवन बीमा समूहमा ०.६९ प्रतिशत र लगानी समूहमा १.२४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ७३ लाख २१ हजार १४ कित्ता सेयर ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल बैंकको सर्वाधिक १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १० करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको आज मेगा बैंकको १० करोड ९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको संस्थापक सेयरको ९ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंकको ८ करोड ७१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ८ करोड ७ लाख रुपैयाँ, एनआईसी एसियाको ७ करोड ९ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको ७ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन गुडविल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो फाइनान्सको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।