काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार २७.५१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५८४.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२४ अंकले उकालो लागेर ४९०.६८ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रेम ओली आजको बढाइले अब बजार नघट्ने संकेत गरेको बताउँछन्। ‘बजार लयमा फर्किनका लागि गुड न्युज आउनैपर्छ’, उनले भने, ‘यदि राष्ट्र बैंकले आउँदो त्रैमासिक समीक्षामा यसअघिका बजार प्रतिकूल नीतिहरुमा परिमार्जन गरेमा लगानीकर्ताको मनोबल बढ्नेछ र बजार फर्किन सक्छ।’

बजार लगानीकर्ताको मनोविज्ञानले चल्ने हुँदा अझै पनि लगानीकर्ताहरु बजारप्रति आश्वास्त हुन नसकिरहेको ओली बताउँछन्। ‘सकारात्मक खब नआएसम्म बजार साइडवेजमै रहन सक्छ’, उनले भने, ‘बजार बयरिस नै भइसकेको अवस्था भने होइन।’

सक्रिय लगानीकर्ता पवर्त बिष्ट बजार अझै केही दिन साइडवेजमै रहने बताउँछन्। ‘राष्ट्र बैंकको नीतिका कारण ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘ठूला लगानीकर्ताहरु बजारमा प्रवेश नगरेसम्म बजारले गति लिन सक्दैन।’

राष्ट्र बैंकले आफ्नो नीतिमा परिमार्जन गरेमा बजारले सकारात्मक बाटो लिन सक्ने बिष्टको भनाइ छ। ‘अब तिहारसम्म सामान्य बजार तलमाथि नै होला’, उनले भने, ‘अब बजारको बाटो राष्ट्र बैंकको त्रैमासिक समीक्षापछि नै तय हुने देखिन्छ।’

त्यसैले बजार अहिले नै कता जाला भन्ने अवस्था नरहेको बिष्ट बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ४.११ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.२४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४६ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, जलविद्युत समूहमा २.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७५ प्रतिशत, लघुवित्त समूहमा १.०६ प्रतिशत, जीवन बीमा समूहमा ०.४७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९१ प्रतिशत र लगानी समूहमा ०.४१ प्रतिशतको बढोत्तरी भएको छ।

आज व्यापार समूहमा १.०७ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता सेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन आईसीएफसी फाइनान्सको सर्वाधिक १५ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ९ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ८ करोड ६४ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ८ करोड २२ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ७ लाख रुपैयाँ, अपी पावरको ७ करोड ७४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७ करोड ५० लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ६ करोड ३६ लाख रुपैयाँ, नेपाल बैंकको ६ करोड ६ लाख रुपैयाँ र सानिमा बैंकको ५ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीका सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन मेरो माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।