काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार १२.९८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७८२.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४३ अंकले बढेर ५२ को विन्दु पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार लगानीकर्ताको मनोबल बढ्दा बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘अब नकारात्मक कुराहरुको असर सकिएको छ’, उनले भने, ‘यो साता बजार पाँचै दिन बढेको छ, यसले बजार बजार सकारात्मक लयमा फर्किएको मान्न सकिन्छ।’

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको सीमा र सीडी रेसियोमा परिमार्जन गर्न सक्ने आशा लगानीकर्तामा बढेकोले पनि बजार सकारात्मक बनेको रौनियारको ठहर छ। ‘यसबीच राष्ट्र बैंकले ब्याजदरमा नियन्त्रण गर्यो, यसले बजार बढ्नलाई थप टेवा पुगेको छ’, उनले भने।

अब बजारलाई स्वतन्त्र रुपमा आफ्नै लयमा चल्न दिने हो भने यसअघिको रेकर्ड ब्रेक गर्ने पनि रौनियार बताउँछन्। ‘यसअघि राष्ट्र बैंकको नीतिका कारण बजार नराम्ररी प्रभावित भयो, साना लगानीकर्ताहरुले आत्तिएर सेयर बेचे’, उनले भने, ‘अब त्यो अवस्थाको अन्त्य भएको छ। सबैले सकारात्मक भएर सेयर कारोबार गर्दा उचित हुन्छ।’

नेपाल पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आज बजारमा बार्गेनिङ भएको देखिएको बताउँछन्। जसका कारण बजार तलमाथि गर्दै अन्तिम पोजिटिभ भएर बन्द भएको उनको तर्क छ। ‘आज कारोबार घट्नुको कारण सप्लाई प्रेसर नभएर हो’, उनल भने, ‘यसको कारण बजारमा केही न केही आन्तरिक सूचना चुहिएको हुनुपर्छ।’

यो साताको बजारको मुभलाई हेर्ने हो भने अब तत्काल ठूलो करेन्सन आउने सम्भावना नदेखिएको बास्तोला बताउँछन्। ‘बजार सकारात्मक नै देखिन्छ’, उनले भने, ‘मौद्रिक नीतिको त्रैमासिक समीक्षा र रेमिट्यान्सको फ्लोले अब बजारको बाटो निर्धारण गर्ने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक २.५३ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २.४३ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०.९९ प्रतिशत, जलविद्युत समूहमा २.२१ प्रतिशत, वित्त समूहमा ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.४ प्रतिशतको बढोत्तरी भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.१५ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.४२ प्रतिशत, व्यापार समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८ प्रतिशत र जीवन बीमा समूहमा ०.५६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक २९ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २२ करोड ७५ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको १८ करोड ४४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १७ करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ९९ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको १५ करोड २२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३२ लाख रुपैयाँ, अपी पावरको १३ करोड १४ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड ८७ लाख रुपैयाँ र आरएमडीसी लघुवित्तको ११ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज रिडी हाइड्रोपावरको सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट नै लाग्यो। 
यसैगरी मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज एभरेस्ट इन्स्योरेन्सको संस्थापक सेयरको भाउ सर्वाधिक ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।