काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ३७.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३७६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८८ अंकले घटेर ४५३.५३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की आज अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘बजार अस्ति ठूलो अंकले बढ्दा पनि आज करेक्सन आएको हो’, उनले भने।
करेक्सन आउँदा कारोबार पनि घटेकोले अब बजारको घटाइ थामिएको भन्ने सकिने कार्की बताउँछन्। ‘कारोबार घट्नु राम्रो त होइन तर घट्दा कारोबार पनि कम हुनु भनेको भोलिका दिन बजार बढ्छ भन्ने संकेत नै हो’, उनले भने, ‘त्यसैले आगामी दिनमा बजार माथि नै जाने देखिन्छ।’
सक्रिय लगानीकर्ता विष्णु भुसाल विस्तारै बजार सम्हालिने बताउँछन्। ‘केही दिन अझै बजार साइडवेजमा जान सक्छ’, उनले भने।
लगानीकर्ताको मनोबल अझै उठ्न नसकेको भुसालको तर्क छ। ‘यद्यपि अब बजार अस्तिको भन्दा तल जाँदैन’, उनले भने, ‘किनकि तत्काल अब बजारमा धेरै ठूलो अंकको घटबढ हुने देखिन्न।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटा समूहमा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.५७ प्रतिशतले उकालो लागेको छ।
आज विकास बैंक समूह सर्वाधिक ३.६६ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.०१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा २.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, वित्त समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५३ प्रतिशत, अन्य समूहमा २.०९ प्रतिशत, लघुवित्त समूहमा १.७६ प्रतिशत, जीवन बीमा समूहमा २.०६ प्रतिशत र लगानी समूहमा २.०२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता सेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन प्रभु बैंकको सर्वाधिक ९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बंगलादेशी बैंकको ७ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज समृद्धि फाइनान्सको ६ करोड ९५ लाख रुपैयाँ, अपी पावरको ६ करोड ८७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ६ करोड २६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड २४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ४७ लाख रुपैयाँ र एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेपाल बंगलादेश बैंकका सेयरधनीहरु मालामाल भएका छन्। यो बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट नै लागेको छ।
यो दिन ग्रिनलाइफ हाइड्रो र मैलुङ खोला जलविद्युत सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19