काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ। 

बजार आज १६.०४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५०.७० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ३.०३ अंकले बढेर ४९९.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट मन्त्रिमण्डल पुनर्गठनको सम्भावनाले बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘मन्त्रिमण्डल पुनर्गठन भएमा बजार १००–१५० अंक बढ्नु सामान्य हुन्छ’, उनले भने, ‘किनकि बजारले धेरै नकारात्मक कुरा पचाइसकेको छ।’

यो समय विकास खर्च बढ्ने र चुनाव पनि हुने निश्चित रहेकोले तरलता सहज हुँदै जाने बिष्टको तर्क छ। ‘हाम्रो राष्ट्रलाई पश्चिम राष्ट्रहरुको पनि सहयोग हुने भएकोले श्रीलंकाको जस्तो अवस्था आउने सम्भावना छैन’, उनले भने, ‘अब विस्तारै बजार बढ्छ।’

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला घट्ने क्रम रोकिएकोले बजार सम्हालिएको बताउँछन्। ‘मार्चमा बजारले धेरै बटम लगाइसकेको देखिएको छ’, उनले भने।

विकास खर्च बढ्दै गएको उल्लेख गर्दै बास्तोलाले बजार पनि विस्तारै माथि जाने बताए। ‘बजार लगानीकर्ताको मनोविज्ञानले चल्ने हुँदा अहिले मनोविज्ञान विस्तारै बलियो बन्दै गएको देखिन्छ’, उनले भने। 

मन्त्रिमण्डल हेरफेरको विषयले पनि बजारमा सकारात्मक प्रभाव पारेको हुन सक्ने बास्तोला बताउँछन्। ‘प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय राखेमा बजारमा सकारात्मक असर नै पर्छ’, उनले भने।    

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक १.८७ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.३१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४० प्रतिशत, विकास बैंक समूहमा १.२१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६३ प्रतिशत, लगानी समूहमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, लघुवित्त समूहमा ०.५२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.७० प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक ०.४२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.३५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३५ कम्पनीका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक १५ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ८ करोड ६२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड १८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ८ करोड ५ लाख रुपैयाँ, अपी पावरको ७ करोड ४१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ३६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ८२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ७४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन कालिका पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।