काठमाण्डौ । सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। 

बजार आज १४.२६ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५२७.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले घटेर ४७१.९३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने घटेर १ अर्ब ७५ करोड रुपैयाँको भएको छ।

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की आज सप्लाई घटेको बजारमा बटम लागेको बताउँछन्। ‘अब घट्नेक्रम लगभग रोकिन्छ’, उनले भने, ‘खरिदका लागि मौका छ।’

सरकारलाई दबाब रहेकोले वैशाखमा ब्याजदर घट्न सक्ने कार्कीको भनाइ छ। ‘अहिले बजारमा करेक्सन हुने समय नै हो’, उनले भने, ‘आजको भोलुम हेर्दा कुनै पनि बेला बजारले यूटर्न लिन सक्ने सम्भावना देखिन्छ।’

चुनावी महौल सुरु भएसँगै बजारमा पैसा आउने र तरलता पनि सहज हुँदै जाने कार्कीको भनाइ छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी अहिले ब्याज तिर्ने समय भएको बजारमा बिक्रीचाप परेको बताउँछिन्। ‘बजार साइडवेजमा चलेको छ’, उनले भनिन्। 

सरकारले गर्ने खर्च बढिरहेकोले वैशाखबाट बजार लयमा फर्किन सक्ने तिवारीको भनाइ छ। ‘बजार घट्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भनिन्, ‘अहिले किन्ने मौका छ, राम्रा र बलिया कम्पनी उठाउँदा फाइदा हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ।

यो दिन होटेल तथा पर्यटन समूहमात्रै ०.८३ प्रतिशतले उकालो लागेको हो।

आज जीवन बीमा समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.९९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.६ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.७४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.६९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र लगानी समूहमा ०.१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३८ लाख ९० हजार १३१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ५ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३८ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ९६ लाख रुपैयाँ, अपी पावरको ३ करोड ८९ लाख रुपैयाँ, निफ्राको ३ करोड २८ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र आज लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।