काठमाण्डौ । लगातार ओरालो लागिरहेको सेयर बजार धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज ३५.६६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २४६४.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले बढेर ४६३.७३ को विन्दुमा पुगेको छ। आज २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार धेरै घटेकोले आज बढेको बताउँछन्। ‘राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ’, उनले भने, ‘टीआर लोन, एलसी लोन, ओडी लोन बाहिर जानबाट रोकिएका छन्। यसले विदेशी मुद्राको सञ्चिती बढ्ने र गैरबैंकिङ च्यानलबाट आउने रेमिट्यान्स रोकिएर बैंकिङ च्यानलमार्फत आउने देखिन्छ।’
बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा सरकारले सहुलित दिने भएकोले आगामी दिनमा रेमिट्यान्स बढ्ने र ब्यालेन्स अफ पेमेन्ट सहज हुने बिष्टको तर्क छ। ‘त्यसैले वैशाखको दोस्रो सातादेखि तरलता सहज हुने देखिन्छ र बजार पनि २८०० को विन्दुसम्म पुग्न सक्ने देखिन्छ’, उनले भने, ‘तत्कालका लागि बजारमा यही नै बटम लागेको हुन सक्छ।’
स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की पनि करेक्सन सकिएको र बजारमा बटम लागेको बताउँछन्। ‘आयातमा गरिएको कडाइले तरलता सहज हुने देखिन्छ’, उनले भने, ‘जसले गर्दा अन्य क्षेत्रका व्यापारीहरु पनि सेयर बजारमा आकर्षित हुने देखिन्छ।’
हालका लागि चैतको सिजनल करेक्सन पनि सकिएका कारण बिक्रीचाप कम परेको कार्कीको भनाइ छ। ‘चुनावपछि सरकारले पुँजीगत खर्च बढाउने र तरलता सहज हुँदै जाने भएकोले बजार पुनः २८०० सम्म पुग्न सक्ने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन अन्य समूह सर्वाधिक ३.५९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह २.५२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.१४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१४ प्रतिशत, विकास बैंक समूहमा १.७ प्रतिशत, जलविद्युत समूहमा १.०६ प्रतिशत, वित्त समूहमा १.३५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा १.३३ प्रतिशत, जीवन बीमा समूहमा १.९२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७ प्रतिशत र लगानी समूहमा १.१२ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँमा किनबेच भएका छन्।
आज नबिल बैंकको सर्वाधिक ७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको ६ करोड १८ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८५ लाख रुपैयाँ, इमर्जिङ नेपालको ४ करोड ५९ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ५३ लाख रुपैयाँ, निफ्राको ४ करोड ४९ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड २२ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज हिमालयन पावर पाटर्नर र नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीका सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै गुमाए। राष्ट्र उत्थान लघुवित्तका सेयरभाउ ८ प्रतिशतको हाराहारीमा र इमर्जिङ नेपालको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19