काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज २० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २३५६.१७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले घटेर ४५०.२४ को विन्दुमा आर्लेको छ। सेयर कारोबार डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘अहिले धेरै घट्ने वा धेरै बढ्ने सम्भावना देखिएको छैन’, उनले भने, ‘किनकि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।’

अहिले धेरै लगानीकर्ताहरु सक्रिय भएर किनबेचमा नलाग्दा कारोबार बढ्न नसकेको बताउँछन्। 

बजार जानकार सरोज भट्टराई बजार घट्नुको मुख्य कारण बिक्रीचाप पर्नु नै रहेको बताउँछन्। ‘अत्याधिक पुँजी बढेका कारण सप्लाई बढ्यो’, उनले भने, ‘यो बेला बजार बढ्नुपर्ने थियो तर सप्लाईका कारण बजार बढ्न सकेन।’

बजारबाट चुनावी खर्च जोहो गर्न काम पनि भइरहेको हुन सक्ने भट्टराईको अनुमान छ। ‘जेठ लागेपछि बजारबाट आशा गर्न सकिन्छ’, उनले भने।

हाल २२८० को विन्दुमा बलियो सपोर्ट रहेको भट्टराईले बताए। ‘बजारमा अब ठूलो गिरावट आउने सम्भावना कम छ’, उनले भने, ‘ऋणको पैसाभन्दा पनि आफूसँग भएको पैसा लगानी गर्न यतिबेला उपयुक्त हुने देखिन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.७७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४ प्रतिशत, व्यापार समूहमा १.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८४ प्रतिशत, जलविद्युत समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३४ प्रतिशत, अन्य समूहमा १.४६ प्रतिशत, लघुवित्त समूहमा ०.७९ प्रतिशत, जीवन बीमा समूहमा १.२२ प्रतिशत, म्युअुल फन्ड समूहमा ०.१९ प्रतिशत र लगानी समूहमा १.२१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ४५ लाख ७४ हजार ५२० कित्ता सेयर १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनसीसी बैंकको ४ करोड ९७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७३ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६४ लाख रुपैयाँ, ङादी ग्रुपको ३ करोड ६० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ५१ लाख रुपैयाँ, निफ्राको ३ करोड ४६ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन गुहेश्वरी मर्चेन्ट, गणपति लघुवित्त, महुली लघुवित्त, पाँचथर पावर, किसान लघुवित्त, मिथिला लघुवित्त, सिभिल लुघवित्त, सेन्ट्रल फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीका सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।