काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

बजार आज ३७.०६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २२३८.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अंकले घटेर ४३२.५५ को विन्दुमा झरेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर साढे १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजारका जानकार सरोज भट्टराई हिजो ‘गभर्नरको ब्याजदर बढ्छ तयार रहनुहोस्’ भन्ने अभिव्यक्तिले लगानीकर्ता थप त्रसित बनेको बताए। ‘सोही कारण आज सेलिङ प्रेसर बढेको हो’, उनले भने।

अर्कोतर्फ कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक नआएका कारण पनि बजार प्रभावित बनेको भट्टराईको भनाइ छ। ‘चुनाव नसकी बजारमा पैसा आउनेजस्तो देखिँदैन, तरलता चाप छ’, उनले भने, ‘त्यसैले तरलता सहज भएसँगै बजार पनि बाउन्स हुन सक्छ।’

पुँजी बजार केन्द्रित कार्यक्रम र बजेटमा बजारलाई सकारात्मक प्रभाव पर्ने कार्यक्रम आएमा बजार सकारात्मक हुने भट्टराईको भनाइ छ। 

सक्रिय लगानीकर्ता सुनिलप्रसाद यादव बजार सकारात्मक हुनलाई तरलता सहज र ब्याजदर एकल अंकमा कायम हुनुपर्ने बताउँछन्। ‘गभर्नरले ब्याजदर बढ्ने संकेत गरेकाले पनि आजको बजार प्यानिक भएको हो’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.९३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.६५ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०३ प्रतिशत, व्यापार समूहमा २.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०१ प्रतिशत, विकास बैंक समूहमा २.२६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०५ प्रतिशत, अन्य समूहमा १.१८ प्रतिशत, लघुवित्त समूहमा १.५८ प्रतिशत, जीवन बीमा समूहमा २.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत र लगानी समूहमा २.१८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ४६ लाख ७४ हजार ९४० कित्ता सेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक ८ करो ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ६ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड ५२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड १२ लाख रुपैयाँ, ङादी हाइड्रोपावरको ४ करोड ६ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ७९ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ५० लाख रुपैयाँ, निफ्राको ३ करोड ५० लाख रुपैयाँ र एनसीसी बैंकको संस्थापक सेयरको ३ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन घलेम्दी हाइड्रो, मैलुङ खोला जलविद्युत, शिवश्री हाइड्रो र युनियन हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी सबै कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।