काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ३४.२१ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २२००.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६९ अंकले घटेर ४२९.०५ अंकको विन्दुमा ओर्लेको छ। आज सवा १ अर्ब बढीको कारोबार भएको छ।
बजार जानकार मुक्ति अर्याल अर्थतन्त्रलाई लिएर गभर्नर महाप्रसाद अधिकारीको पछिल्लो अभिव्यक्तिले बजारमा थप दबाब परेको बताउँछन्। ‘तर पनि बजार २२०० को सपोर्ट विन्दुमा बसेको छ’, उनले भने, ‘आज भोलुम पनि बढेको देखिन्छ। यसले बजार घटाइ लगभग पूरा भएको संकेत सकिन्छ। बजार अब विस्तारै सम्हालिन पनि सक्छ।’
घट्दो बजारमा धैर्यताका साथ कारोबार गर्न नै उचित हुने अर्यालको भनाइ छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बैंकमा विस्तारै तरलता बढ्दै गएको र सीडी रेसियो पनि मेन्टेन हुँदै गएकोले बजार कुनै पनि बेला फर्किन सक्ने बताउँछन्। ‘अब बजार धेरै घटेर ५०–६० अंक घट्ला, त्यहाँबाट बजार तल जाने सम्भावना छैन’, उनले भने।
बजेटपछि बजार एकपटक ५००–६०० अंकले माथि नै जाने बिष्टको भनाइ छ। ‘मौद्रिक नीतिको समीक्षामा ४–१२ को क्याप हट्ने सम्भावना छ, यदि नहटे पनि १ वर्ष समयावधि थप्ने सम्भावना प्रबल छ’, उनले भने।
उता आउँदै गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीबजारमा हाल लिइँदै आएको पुँजीगत लाभकर घटाउने तयारी भइरहेकोले अब बजार सकारात्मक हुन सक्ने बिष्टको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन जीवन बीमा कम्पनी सर्वाधिक २.६२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.४४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.१६ प्रतिशत, व्यापार समूहमा १.१३ प्रतिशत, विकास बैंक समूहमा १.९७ प्रतिशत, जलविद्युत समूहमा २.०८ प्रतिशत, वित्त समूहमा २.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३५ प्रतिशत, अन्य समूह ०.२४ प्रतिशत, लघुवित्त समूहमा १.८४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९२ प्रतिशत र लगानी समूहमा २.०१ प्रतिशतको गरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ३९ लाख १७ हजार ६५५ कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँमा किनेबच भएका छन्।
आज नबिल बैंकको सर्वाधिक ४ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ६४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ९५ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ७६ लाख रुपैयाँ, साना किसान विकास लघुवित्तको २ करोड ६३ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २ करोड ५३ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतले बढीले उकालो लागेको छ।
आज मिथिला लघुवित्त र विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago