काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ।

बजार आज १६.२० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४५.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८० अंकले बढेर ३९१.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढी भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल असार मसान्तको प्रभाव सकिएकोले बजारले लय लिन थालेको बताउँछन्। ‘बजारमा आपूर्ति कम भएको छ, पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता पनि बजार प्रवेश गरेको देखिन्छ’, उनले भने। 

प्रधानमन्त्रीकै सल्लाहमा मौद्रिक नीति सन्तुलित आउन सक्ने लम्सालको भनाइ छ। ‘तरलता पनि केही सहज भएकोले लगानीकर्ता आशावादी देखिँदा बजारमा सुधार देखिएको छ’, उनले भने। 

अब कम्पनीहरुको चौथो त्रैमासको वित्तीय विवरण पनि आउन सुरु भएको र लाभांशको सिजन पनि सुरु हुने भएकोले बजार माथि नै जाने सम्भावना रहेको लम्साल बताउँछन्। 

सक्रिय लगानीकर्ता एसपी चौलागाईं पनि लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेको र सकारात्मक र सन्तुलित नीति आउने आशाका साथ बजारमा सुधार हुन थालेको बताउँछन्। लामो समयदेखि बजार घटिरहेका कारण अहिले बढेको उनको तर्क छ। 

हाल रेमिट्यान्स बढेको र सीडी रेसियो घटेका कारणले तरलता बढ्दै जाँदा बजार अब सकारात्मक नै बन्ने चौलागाईंको विश्वास छ।  

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.७ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह १.८५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४६ प्रतिशत, व्यापार समूहमा १.५९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४२ प्रतिशत, विकास बैंक समूहमा १.१८ प्रतिशत, जलविद्युत समूहमा ०.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२४ प्रतिशत, अन्य समूहमा ०.२१ प्रतिशत, लघुवित्त समूहमा १.८५ प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.५३ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका ५७ लाख १३ हजार २४८ कम्पनीका २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १५ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेष्ट बैंकको १० करोड ५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ८ करोड ४८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ८८ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ९४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ४६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड ३४ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ करोड १८ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ७ लाख रुपैयाँ र अप्पर तामाकोशीको ४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन तारागाउँ रिजेन्स होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो होटेलको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।