काठमाण्डौ । सेयर बजार बिहीबार पनि उकालो लागेको छ।

आज बजार १५.४९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१२७.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७० अंकले बढेर ४०५.६२ को विन्दुमा पुगेको छ। कारोबार रकम झन्डै ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार प्रकाश रजौरे बजार विस्तारै चलायमान हुन थालेको बताउँछन्। ‘बजार २२५० सम्म पुग्यो भने मार्जिन कलको दबाब पनि हट्छ’, उनले भने, ‘अब एक सातापछि बजारमा रौनिक आउँछ।’

बजारमा अहिले २५ लाख रुपैयाँसम्म कर्जा पाउने अवस्था सिर्जना भएको पनि रजौरे बताउँछन्। ‘लगानीकर्ताले मौद्रिक नीति कुरेका थिए’, उनले भने, ‘मौद्रिक नीति पनि सकारात्क नै आएको छ। अब विस्तारै लगानीकर्ताको मनोबल बढ्दै गएको छ।’

सक्रिय लगानीकर्ता लक्ष्मण श्रेष्ठ बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँछन्। ‘पछिल्लो समय कारोबार पनि बढ्दै गएको छ, यसले पनि बजार अब लयमा फर्किने संकेत गर्छ’, उनले भने, ‘धमाधम कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट पनि आइरहेका छन्। राम्रै आइरहेको छ। अब लाभांशको सिजन पनि सुरु हुने भएकोले बजार राम्रै हुने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ३.२७ प्रतिशतले उकालो लागेको छ। लगानी समूह २.९३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, व्यापार समूहमा ०.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१३ प्रतिशत, विकास बैंक समूहमा २.२२ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, लघुवित्त समूहमा १.४६ प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.२ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण काबेली पावरको सर्वाधिक १७ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपर तामाकोशीको १४ करोड १७ लाख रुपैयाँ, अपी पावरको १३ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १० करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड १ लाख रुपैयाँ, युनिभर्सल पावरको ८ करोड ८२ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ८ करोड ७ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन्ध्यावासिनी जलविद्युत कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा राष्ट्र उत्थान लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन राधी विद्युत, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरभाउमा ४ प्रतिशत हाराहारी गिरावट आएको छ।