काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २७.१६ अंकले घटेर १८७१.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३६६.८४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
अन्तर्राष्ट्रिय बजार जानकार मुक्ति अर्याल आज नाफाबुक हुँदा बजार घटेको बताउँछन्। ‘बजारमा अल्पकालीन लगानीकर्ताहरु हावी भएको देखिन्छ’, उनले भने, ‘यद्यपि, आसन्न चुनावका कारण बजार घट्न रोकिन सक्छ।’
प्रायः चुनावहरुमा बजार बढ्ने गरेको अर्याल बताउँछन्। ‘आजको कारोबार लगानीकर्ताहरु खरिदबिक्रीमा खासै आक्रामक नभएको देखिन्छ’, उनले भने।
आगामी दिनमा ट्रेडरहरुले होल्ड गरेमा बजार बढ्न सक्ने अर्यालको तर्क छ।
अर्का बजार जानकार वीरेन्द्र बिष्ट पनि आजको घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘चुनावअघि बजारमा राम्रो बढोत्तरी आउन सक्छ, बजार बढेर २५०० सम्म पुग्न सक्छ’, उनले भने, ‘किनकि चुनावमा पैसा बाहिर आउँछ।’
अब ब्याजदर बढ्ने सम्भावना पनि नरहेको बिष्ट बताउँछन्। ‘माघ–फागुनबाट ब्याजदर घट्न सक्छ’, उनले भने।
अहिलेका लागि १८०० को विन्दु नै बटम रहेको बिष्टको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.८४ प्रतिशतले उकालो लागेको छ।
आज विकास बैंक समूह सर्वाधिक २.६५ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.३९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.१४ प्रतिशत, व्यापार समूहमा ०.५४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७५ प्रतिशत, जलविद्युत समूहमा २.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८६ प्रतिशत, अन्य समूहमा १.३८ प्रतिशत, लघुवित्त समूहमा १.७२ प्रतिशत, जीवन बीमा समूहमा ०.८ प्रतिशत र लगानी समूहमा १.३४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक १६ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको ६ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ५८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २ करोड ९ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १ करोड ७४ लाख रुपैयाँ, हिमालयन पावर पाटर्नरको १ करोड ६६ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ६५ लाख रुपैयाँ, रिडी पावरको १ करोड ५८ लाख रुपैयाँ र अपी पावरको १ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज अभियान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19