काठमाण्डौ । सेयर बजार मंगलबार पनि ओरालो लागेको छ। 

बजार आज १६.०६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५५.१६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ३६३.६३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ५५ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार सरोज भट्टराई देश चुनावी चटारोमा रहेकोले अहिले नै बजारमा ठूलो पैसा आउने सम्भावना कम रहेको बताउँछन्। ‘पैसा अहिले चुनावका लागि होल्ड गरेको देखिन्छ’, उनले भने, ‘सोही कारण बजारमा ठूलो अंकको घटबढ हुने सम्भावना छैन।’

अहिलेको बजार दीर्घकालीन लगानीका लागि उपयुक्त रहेको भट्टराई बताउँछन्। ‘तरलता सहज नहुन्जेल र ब्याजदर नघटेसम्म बजारले ठूलो फड्को मार्न नसक्ने देखिन्छ’, उनले भने। 

अर्का बजार जानकार दमोदर गजुरेल हालका लागि बजार १८००–२००० बीच साइडवेजमा चल्ने बताउँछन्। ‘अहिले बजारमा अल्पकालीन लगानीकर्ताहरु पसेको अवस्था छैन’, उनले भने, ‘त्यसैले बजार तुरुन्तै बाउन्स ब्याक हुने सम्भावना पनि कमै छ।’

विस्तारै ब्याजदर घटेपछि मात्रै बजार माथि जाने सम्भावना रहेको गजुरेलको तर्क छ। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.२६ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ०.०४ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक १.४ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.३८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा १.२८ प्रतिशत, जलविद्युत समूहमा ०.८ प्रतिशत, वित्त समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा १.२१ प्रतिशत र लघुवित्त समूहमा ०.४२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १७ लाख ६७ हजार ६९२ कित्ता सेयर ५५ करोड २७ लाख १२ हजार ८८५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन पावर पाटर्नरको २ करोड १८ लाख रुपैयाँ, रिडी पावरको २ करोड ७ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ९२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ७१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड २० लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ करोड १३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १ करोड ५ लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज समिट लघुवित्त र अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यीमध्ये समिट लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा अभियान लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन विन्ध्यावासिनी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ७ प्रतिशत बढीको गिरावट आएको छ।