काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजारमा आज १२.८१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १८४५.५१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.६६ अंकले घटेर ३६२.९६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ६४ करोड रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरम उपाध्यक्ष राजन लम्साल बजारमा चाडपर्वको प्रभाव परेको बताउँछन्। ‘यतिबेला लगानीकर्ता घुमघामतिर लागेका छन्, जसका कारण बजारमा सोचेजस्तो कारोबार हुन सकेको छैन’, उनले भने।

केही सक्रिय लगानीकर्ताहरु अहिले नयाँ ब्रोकर हाउस खोल्ने तरखरमा रहेको पनि लम्सालले बताए। ‘नयाँ ब्रोकर हाउस खोल्न १२ अर्ब रुपैयाँ बजारबाट बाहिरिएको छ’, उनले भने। 

बैंकहरुको आधारदर बढेका कारण पनि बजार प्रभावित भएको लम्सालको भनाइ छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि बैंकहरुको आधारदर बढेका कारण सेयर बजारमा असर परेको बताउँछन्। ‘राष्ट्र बैंकहरुको नीतिगत व्यवस्थाहरुमा परिमार्जन नगरेसम्म बजार लयमा फर्किंदैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.५६ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड पनि ०.१८ प्रतिशतले बढेको छ। 

आज वित्त समूह सर्वाधिक २.५४ अंकले ओरालो लागेको छ। जलविद्युत समूह १.८३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२१ प्रतिशत, व्यापार समूहमा ०.९४ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८७ प्रतिशत, अन्य समूहमा १.०८ प्रतिशत, लघुवित्त समूहमा ०.७६ प्रतिशत, जीवन बीमा समूहमा ०.२२ प्रतिशत र लगानी समूहमा ०.९४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका २१ लाख ५१ हजार ७१४ कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक ३ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको २ करोड ३३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ८६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ४४ लाख रुपैयाँ, अपी पावरको १ करोड ४३ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज अभियान लघुवित्त र सयपत्री जलविद्युत कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।