काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १०.५४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १८८३.१६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८३ अंकले घटेर ३७०.५३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल केही कारणले बजारमा बिक्रीचाप परेको बताउँछन्। ‘यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर कारोबारमा आउनेजस्ता विषयले लगानीकर्ता अलमलमा परेको देखिन्छ’, उनले भने। 

प्राविधि रुपमा पनि बजार १८८० भन्दा माथि बलियो सपोर्ट रहेको रिजाल बताउँछन्। ‘एनबीएले पनि ब्याजदर घटाउने सम्भावना रहेको छ’, उनले भने, ‘यी सबै कारणले गर्दा चुनावपछि बजारले लय समात्न सक्ने अनुमान गर्न सकिन्छ।’

अर्का बजार जानकार कमलराज अधिकारी बजार घट्न्ुपर्ने खासै कारण नरहेको बताउँछन्। ‘बजार माथि नै जान्छ’, उनले भने, ‘बजारको बटम यही नै हो।’

लगानीकर्ताको मनोबल बढ्न नसक्दा अहिले बजारमा करेक्सन आइरहेको अधिकारीको भनाइ छ। ‘मंसिरबाट ब्याजदर घट्ने कुरा आइरहेको छ, त्यसैले अहिले ढुक्क भएर लगानी गर्दा हुन्छ’, उनले भने, ‘चुनावपछि बजार माथि नै जान सक्छ।’ 

आज नेप्सेमा उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्र हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह ०.६ प्रतिशतले उकालो लागेको छ। 

आज व्यापार समूह सर्वाधिक १.४४ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.२६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४ प्रतिशत, विकास बैंक समूहमा ०.१२ प्रतिशत, वित्त समूहमा ०.०५ प्रतिशत, जलविद्युत समूहमा १.०५ प्रतिशत, लगानी समूहमा ०.६७ प्रतिशत, जीवन बीमा समूहमा ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२४ प्रतिशत र अन्य समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २० लाख २८ हजार ३४८ कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार ७०७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २ करोड ३८ लाख रुपैयाँ, हिमालयन पावर पाटर्नर २ करोड २६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड १६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड २ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९९ लाख रुपैयाँ, रिडी पावरको १ करोड ८२ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन मन्दाकिनी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

आज निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।