काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २४.४६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९३८.७६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१९ अंकले घटेर ३७९.६४ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर १ अर्ब ६७ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार दामोदर गजुरेल बजारले प्राविधिक रुपमा १९८०मा पटक–पटक सामना गरिरहेको बताउँछन्। ‘आज पनि यही विन्दुमा प्रतिरोधको सामना गरेर बजार खसेको छ’, उनले भने।

केही ठूला कम्पनी रिडी पावर र शिवम सिमेन्टमा बिक्रीचाप पर्दा पनि बजार घटेको गजुरेलका भनाइ छ। ‘यसका साथै नयाँ सरकार गठनमा अन्यौलता देखिँदै पनि बजार प्रभावित भएको हुन सक्छ’, उनले भने। 

अर्का बजार जानकार अर्जुन थापा बजार अहिले माथि जान नसक्नुमा आर्थिक संकट नै रहेको बताउँछन्। ‘बजारमा सरकार गठनलाई लिएर भइरहेको हल्लाले पनि लगानीकर्ताको मनोविज्ञानमा असर गरेको हुन सक्छ’, उनले भने। 

थापाले आज बजामा नाफा बुक भएको हुन सक्ने पनि बताए।  

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.३७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.२८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७१ प्रतिशत, विकास बैंक समूहमा १.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३ प्रतिशत, जलविद्युत समूहमा १.७२ प्रतिशत, लगानी समूहमा १.०४ प्रतिशत, जीवन बीमा समूहमा १.४४ प्रतिशत, लघुवित्त समूहमा १.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१९ प्रतिशत, अन्य समूहमा १.९२ प्रतिशत र व्यापार समूहमा १.३८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २४० कम्पनीका ४१ लाख २७ हजार २८६ कित्ता १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन रिडी पावरको सर्वाधिक ३० करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २० करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ८ करोड ४७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ३८ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ५५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ८७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ५७ लाख रुपैयाँ, मेगा बैंकको २ करोड ५२ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सयपत्री हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन अजोड इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।