काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार दोहोरो अंकले बढेको छ। 

बजार आज १४.५७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५२८.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.०९ अंकले बढेर ४४८.८९ को विन्दुमा पुगेको छ। आज बजारमा ५ अर्ब बढीको सेयर कारोबार भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको बजार बढाइ स्वभाविक रहेको बताउँछन्। ‘अहिले अफसिजनमा पनि कारोबार ५ अर्ब रुपैयाँ माथि हुनु भनेको राम्रो कुरा हो’, उनले भने। 

कम्पनीको तेस्रो त्रैमास रिपोर्ट आउन थालेपछि बजारले नयाँ उचाइ चुम्नसक्ने घिमिरेको अनुमान छ। ‘पछिल्लो समय व्यापार विस्तारमा आक्रामक देखिएका बैंकहरुको तेस्रो त्रैमास रिपोर्ट पनि पक्कै राम्रै आउनेछ’, उनले भने, ‘बैंकिङ सेक्टरमा चमक आउन थालेपछि बजार बढ्ने नै हो।’

अर्का बजार जानकार रघुनाथ अधिकारी आजको बढाइ बजार सकारात्मक ढंगले अगाडि बढिरहेको प्रस्ट हुने बताउँछन्। ‘आजको बजारलाई हेर्दा लगानीकर्ताहरू हाइड्रो र लघुवित्ततिरै आकर्षित भइरहेको देखिन्छ’, उनले भने, ‘हाइड्रोको कारोबारमा लगातार वृद्धि भई आज सर्किट लागेको अवस्थाले लगानीकर्ताहरू नयाँ–नयाँ कम्पनीमा लगानी गर्दै पोर्टफोलियो परिवर्तन गर्न लागेको देखिन्छ।’

केही दिन लिक्विडिटी घटेको, अब बैंकको व्याज बढ्नेजस्ता अफवाहले बढ्दो बजारलाई रोक्ने कोसिस गर्नेहरूको जाललाई लगानीकर्ताले च्यातिदिएको अधिकारीको तर्क छ। अस्थिर राजनीतिको हौवाले पनि बजारलाई रोक्न नसकेको परिदृश्यले बजारको बुलिस गतिलाई केहीले पनि रोक्न नसक्ने स्पष्ट देखिएको अधिकारी बताउँछन्। ‘टर्नओभर पनि दिनदिनै बढ्ने क्रममा छ’, उनले भने, ‘३ अर्ब रुपैयाँको हाराहारीमा झरेको कारोबार आज ५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ’, उनले भने, ‘अबका दिनमा ६ अर्ब रुपैयाँहुँदै पुनः १० अर्ब रुपैयाँ पुग्नेमा कुनै सन्देह छैन। बजार बढ्नलाई कारोबार रकमले समेत साथ दिइरहेको छ।’

यो दिन नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

आज व्यापार समूह सर्वाधिक ३४६.४६ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह १७४.०४ अंकले बढेको यो दिन होटेल तथा पर्यटन समूहमा १५५.५ अंक, जलविद्युत् समूहमा १२९.८४ अंक, लघुवित्त समूहमा ६९ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा १.०३ अंकको बढोत्तरी भएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ९८.७८ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ४२.३३ अंकले घटेको आज बैंकिङ समूहमा ६.६८ अंक, विकास बैंक समूहमा ६.०५ अंक, वित्त समूहमा ४.७४ अंक र अन्य समूहमा ११.४१ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा किनबेच भएको छ। 

यो दिन निफ्राको सर्वाधिक ५२ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको ३२ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको २८ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५७ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १३ करोड ७४ लाख रुपैयाँ, साल्ट ट्रेडिङको १२ करोड ५८ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १२ करोड ४४ लाख रुपैयाँ, मेरोमाइक्रोफाइनान्सको ११ करोड ८७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १० करोड ७६ लाख रुपैयाँ र अरुण काबेली पावरको १० करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत तथा चन्द्रागिरी हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर, सान्जेन जलविद्युत, वोमी लघुवित्त, माथिल्ला तामाकोशी, राइराङ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटि सर्किट लागेको हो। यो दिन सूर्योदय लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

आज पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।