काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २७.५४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५५.०६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेर ३६२.८२ को विन्दुमा झरेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल आज बजार २–३ वटा कारणले घटेको बताउँछन्। ‘लगानीकर्ताले पुसमा ब्याजदर घट्ने आशा गरेका थिए तर ब्याजदर घटेन, यसले बजारमा दबाब सिर्जना भएको छ’, उनले भने।
पुस मसान्तको प्रभाव पनि बजारमा परेको रिजाल बताउँछन्। ‘नयाँ सरकार गठनका विषयमा लगानीकर्ताले निकै चासो दिएका छन्, जसका कारण उनीहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने।
‘प्राविधिक विश्लेषकहरुले १८८० लाई सपोर्ट विन्दु मानेका थिए, यो विन्दुबाट बजार तल झरेकोले पनि दबाब परेको हो’, उनले भने।
अर्का बजार जानकार वीरेन्द्र बिष्ट गभर्नरको बोलीले बजार प्रभावित भइरहेको बताउँछन्। ‘यद्यपि, यो घटाइ केही दिनमात्रै रहनेछ’, उनले भने।
बजारमा तत्काल मार्जिन कलको सम्भावना नरहेको बिष्टको दाबी छ। ‘किनकि बजार यसअघि पनि १८०० मा आएको थियो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह २.८८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.१९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.५२ प्रतिशत, विकास बैंक समूहमा २.०६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९४ प्रतिशत, जलविद्युत समूहमा २.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७८ प्रतिशत, लघुवित्त समूहमा १.३१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९० प्रतिशत र व्यापार समूहमा ०.२६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५० कम्पनीका ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँमा किनबेच भएका छन्।
यो कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ४३ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ७९ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ३८ लाख रुपैयाँ, सिवाईसी लघुवित्तको ३ करोड ११ लाख रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको ३ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ३ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको २ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज इस्टर्न हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशत हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन रुरु जलविद्युत र पिपुल्स हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago