काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार २०.६८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१६४.४८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने स्थिर रहँदै ४११.२३ कै विन्दुमा रहेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजारको अहिलेको ट्रेन्ड हेर्दा इन्ट्राडे करेक्सन हुँदै अगाडि बढ्ने देखिने बताउँछिन्। ‘सरकारले विश्वासको मत लिने दिन नजिकिँदै गएको र माघ महिनादेखि ब्याजदर घट्ने कुरा पनि चर्चा हुँदै आएकोले बजार बढ्नलाई सहयोग पुगेको छ’, उनले भनिन्, ‘यसले गर्दा लगानीकर्ताको मनोबल बढ्दै गएको छ।’
अहिले लगानीकर्ता सानो क्याप भएका कम्पनीहरुमा बढी आकर्षिक भइरहेको तिवारी बताउँछिन्। ‘यस्ता कम्पनीहरुमा केही नाफा भइसकेपछि फेरि सस्ता र बलिया कम्पनीहरुमा लगानीकर्ताहरुको अकर्षण बढ्नेछ’, उनले भनिन्, ‘आज कारोबारसँगै नेप्से पनि बिहीबारको तुलनामा बढेकोले बजार थप मजबुत बन्दै गएको प्रस्ट हुन्छ।’
बजार जानकार सरोज भट्टराई बजारको बढाइ हेर्दा लगानीकर्ताहरुले नयाँ सरकारलाई विश्वास गरेको मान्न सकिने बताउँछन्। ‘अहिलेका अर्थमन्त्री र गभर्नरको पनि ट्युन मिलेको देखिन्छ’, उनले भने, ‘जसले गर्दा अर्थतन्त्र चलायमान हुनेछ र सेयर बजारलाई बढ्न सहयोग पुग्नेछ।’
लो क्याप र कमजोर कम्पनीमा नै लगानीकर्ताहरुको आकर्षण बढिरहेको पनि भट्टराई बताउँछन्। ‘कालान्तरमा कमोजर कम्पनीले भन्दा राम्रा लाभांश दिने कम्पनीले नै लगानीकर्तालाई धेरै नाफा दिनेछन्’, उनले भने, ‘कमजोर कम्पनीमा प्राविधिक विश्लेषण गरेर लगानी गर्न सक्नेले मात्रै लगानी गर्न उचित हुन्छ किनकि कमजोरी कम्पनीमा लगानी गर्दा विगतमा जस्तै फस्ने सम्भावना हुन्छ। विशेषगरी नयाँ लगानीकर्ताहरु जुन कम्पनीमा सर्किट लागेको छ, त्यही कम्पनीमा झुम्मिने गरेको देखिन्छ। तर, त्यस्ता कम्पनीमा लगानी जोखिमपूर्ण हुन्छ।’
त्यसैले आधारभूत रुपमा बलिया कम्पनीहरुमा लगानी गर्दा लगानीकर्ताहरु कहिल्यै नफस्ने भट्टराईको भनाइ छ। ‘लगानीकर्ताहरुले जहिले पनि राम्रो लाभांश इतिहास र नाफा गर्ने कम्पनीमा लगानी गर्नु उचित हुन्छ’, उनले सुझाव दिँदै भने।
यो दिन आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
आज जीवन बीमा समूह सर्वाधिक ४.४३ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.६५ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.५० प्रतिशत, वित्त समूहमा १.९५ प्रतिशत, जलविद्युत समूहमा ३.६५ प्रतिशत, लगानी समूहमा १.८८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.५३ प्रतिशत, अन्य समूहमा ०.७९ प्रतिशत र व्यापार समूहमा २.४६ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.१५ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.८८ प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.२२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका १ करोड ४१ लाख ९८८ कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक २१ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँ, ङादी ग्रुपको १४ करोड ४८ लाख रुपैयाँ, अपी पावरको १३ करोड ७३ लाख रुपैयाँ, अपर तामाकोशीको १३ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ७० लाख रुपैयाँ र नबिल बैंकको १० करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा ङादी ग्रुप पावर र मनकामना स्मार्ट लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन्। यी कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago