काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज १३.७१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१६५.१० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घटेर ४१३.०१ को विन्दुमा ओर्लेको छ। 

बजार जानकार वैकुण्ठ पौडेल बजारमा आज पनि करेक्सन आएको बताउँछन्। ‘लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेर बसेको देखिन्छ’, उनले भने, ‘त्यसैले बजारमा केही दिन सामान्य घट्बढ चलिरहने देखिन्छ।’

ब्याजदर घटेकाले अब बजार ठूलो अंकले नघट्ने पौडेलको भनाइ छ। ‘फागुनमा पनि ब्याजदर घट्ने चर्चा चलिरहेको छ’, उनले भने, ‘यसले बजारलाई बढ्न टेवा पुग्ने देखिन्छ।’

बजारमा ठूला लगानीकर्ताहरुलाई बैंकहरुले ११ प्रतिशत ब्याजमै सेयर धितो कर्जा लिन बोलाइरहेको चर्चा रहेको पनि पौडेलले सुनाए। ‘यसले पनि बैंकहरुको ब्याजदर घट्ने र बजारलाई सपोर्ट गर्ने अनुमान गर्न सकिन्छ’, उनले भने। 

आज नेप्से उपसमूह रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन बैंकिङ समूह सर्वाधिक १.०८ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.४१ प्रतिशत घट्दा विकास बैंक समूहमा २.३३ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशत, लगानी समूहमा १.६८ प्रतिशत, जीवन बीमा समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३८ प्रतिशत, लघुवित्त समूहमा ०.८६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३४ प्रतिशत, अन्य समूहमा १.४८ प्रतिशत, व्यापार समूहमा ०.०९ प्रतिशत र व्यापार समूहमा ०.०७ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका  करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७४ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन कुमारी बैंकको सर्वाधिक २७ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको १२ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको आज रिडी पावरको ११ करोड ३३ लाख रुपैयाँ, अपी पावरको ११ करोड १३ लाख रुपैयाँ, एभरेस्ट बैंकको १० करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ९७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड १९ लाख रुपैयाँ, अपर तामाकोशीको ७ करोड ७२ लाख रुपैयाँ र निफ्राको ६ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आदर्श लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन हिमालयन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।