काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १०.३७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१८३.६२ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.३ अंकले घटेर ४१४.२४ को विन्दुमा झरेको छ। कारोबार साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार प्रकाश रजौरे सबैतिरको महौल अनुकूल रहेकै कारण बजार बढेको बताउँछन्। ‘अब मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले केही लचकता अपनाए बजार २५०० सम्म पुग्न सक्छ’, उनले भने, ‘जोखिम भार अनुपात १५० प्रतिशतबाट तल झरिनुपर्छ, किनकि पहिला पनि १०० मा नै झारिएको थियो।’
सेयर धितो कर्जामा १२ करोडको क्यापको पनि कुनै औचित्य नरहेको रजौरे बताउँछन्। ‘राष्ट्र बैंक ब्याजदर, चालु पुँजी कर्जाजस्ता विषयमा पनि लचक भएकोले पुँजीबजार पनि लचक हुने आश गर्न सकिन्छ’, उनले भने।
बैंकहरु मर्जमा जाँदा सीडी रेसियो पनि घट्दै गएको रजौरेको भनाइ छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजारमा राष्ट्रपतिको निर्वाचनका विषयले केही अन्यौलता सिर्जना भएको बताउँछन्। ‘बजार अझै १–२ दिन बढेपछि लगानीकर्तामा त्यो अन्यौलता हट्नेछ’, उनले भने।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि बजारमैत्री नै आउन सक्ने बिष्टको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.६५ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.५० प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.७३ प्रतिशत, जलविद्युत समूहमा १.३७ प्रतिशत, लगानी समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, लघुवित्त समूहमा १ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०६ प्रतिशत र व्यापार समूहमा ०.८३ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.५० प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.५३ प्रतिशतले घट्दा वित्त समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक १० करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको ९ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्रीनलाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख रुपैयाँ, अपर तामाकोशीको ६ करोड ९७ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ७० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ५१ लाख रुपैयाँ, नेसनल माइक्रोफाइनान्सको ६ करोड ४६ लाख रुपैयाँ, रिडी पावरको ६ करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २७ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ६ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। ग्रीनलाइफ हाइड्रोपावर र आदर्श लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन जानकी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago