काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १६.४० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २१०५.४६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ४०१.६९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आज लगानीकर्ताले आत्तिएर सेयर बेच्दा बजार घटेको बताउँछन्। ‘मौद्रिक समीक्षाले प्रत्यक्ष रुपमा पुँजीबजारलाई सम्बोधन नगरे पनि अप्रत्यक्ष रुपमा ब्याज घटाउने नीति अवलम्बन गरेको देखिन्छ’, उनले भने, ‘त्यसैले बजार घट्नुपर्ने खासै कारण नरहेकोले केही दिनमै सम्हालिनेछ।’

विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी पनि सुधार हुँदै गएकोले त्यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिने बिष्टको तर्क छ। 

बजार जानकार अर्जुन थापा कर्जाको ब्याजदर नघट्नु र ठूला लगानीकर्ताले नवीकरण गर्दा महँगो नै तिर्नुपर्ने भएकोले बजारले लय लिन नसकेको बताउँछन्। ‘राजनीतिको नाममा चलखेल हुँदा पनि बजार प्रभावित भएको हो’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूहमा मात्रै ०.३१ प्रतिशतले उकालो लागेको छ। 

आज लगानी र लघुवित्त समूह सर्वाधिक समान १.०३ प्रतिशतले ओरालो लागेका छन्। विकास बैंक समूह ०.९८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७६ प्रतिशत, वित्त समूहमा ०.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८३ प्रतिशत, जलविद्युत समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा ०.८० प्रतिशत, म्युचुल फन्ड समूहमा ०.५६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५४ प्रतिशत, अन्य समूहमा ०.६६ प्रतिशत र व्यापार समूहमा ०.४९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५५ कम्पनीका ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७३ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको ७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुपको ७ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ६ करोड ९० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ लाख रुपैयाँ, अपी पावरको ४ करोड ५१ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड २ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३८ लाख रुपैयाँ, निफ्राको २ करोड ५८ लाख रुपैयाँ, अपर तामाकोशीको २ करोड ५७ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन युनिलिभरका सेयधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

आज बाराही हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।