काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकको सुधार आएको छ।
बजार आज ३३.५७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०८०.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८० अंकले बढेर ३९६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम पौन २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल राजनीतिक घटनाक्रममा केही सुधारको संकेत देखिएकोले आज बजार बढेको हुन सक्ने बताउँछन्। ‘सरकार परिवर्तन हुने अवस्था देखिँदैन’, उनले भने।
आज पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरु बजारमा प्रवेश गरेको हुन सक्ने रिजालको भनाइ छ। ‘भोलि पनि बढेमा अल्पकालका लागि बजारको बाउन्स हुन सक्छ’, उनले भने, ‘२०५० को विन्दुमा बजारमा सपोर्ट लिएको पनि देखिन्छ।’
अर्का बजार जानकार दामोदर गजुरेल लगातार ५ दिन घटेको बजार आज बढ्नुलाई स्वाभाविक बाउन्सका रुपमा लिनुपर्ने बताउँछन् । ‘अहिलेको गठबन्धन नटुट्ने र सरकार पनि फेरबदल नहुने आँकलन गरेर केही जोखिम लिने लगानीकर्ता बजार पसेको हुन सक्छ’, उनले भने।
भारतको ऊर्जा बैठकले पनि जलविद्युत कम्पनीहरुमा चमक आएको गजुरेलको तर्क छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
आज जलविद्युत समूह सर्वाधिक ३.८५ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.०७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२५ प्रतिशत, विकास बैंक समूहमा २.२३ प्रतिशत, वित्त समूहमा २.८९ प्रतिशत, लगानी समूहमा २.५३ प्रतिशत, जीवन बीमा समूहमा १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०३ प्रतिशत र अन्य समूहमा १.७९ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक १.४ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.१५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.०८ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८१ रुपैयाँका किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक १३ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ५२ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८६ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड २७ लाख रुपैयाँ, अपी पावरको ३ करोड १८ लाख रुपैयाँ, निफ्राको ३ करोड ११ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको २ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन लिबर्टी इनर्जी र छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। दोर्दी खोला जलविद्युत कम्पनीको सेयरभाउ पनि ९ प्रतिशतले बढेको छ।
आज आदर्श लघुवित्तका सेयरधनीहरु सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19