काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। 

बजार आज ३०.७७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३८.२५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८६ अंकले घटेर ३६८.७० को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट राजनीतिक अन्यौलताका कारण बजार घटेको बताउँछन्। ‘राष्ट्रपतिको चुनाव पनि बजारमा सुधार आउने देखिन्छ’, उनले भने, ‘किनकि राजनीतिक स्थिरता पनि बन्दै जाने र ब्याज पनि केही घट्ने सम्भावना छ।’

अहिले धेरै लगानीकर्ता गभर्नर र अब बन्ने अर्थमन्त्रीको विषयले डराएको हुन सक्ने बिष्टको भनाइ छ। ‘तर, बजार डराइहाल्नुपर्ने अवस्था छैन’, उनले भने। 

अर्का बजार जानकार महेश रिजाल २–३ वटा कारणले बजार घटेको बताउँछन्। ‘अर्थमन्त्री र सरकारको विषय, ब्याजदर र उद्योगी–व्यवसायीहरुको आन्दोलन तथा लघुवित्तविरुद्धको आन्दोलन पनि बजार प्रभावित भएको देखिन्छ’, उनले भने, ‘किनकि पैसा हुनेहरुले पनि ऋण नतिर्ने डरले बजार घटेको हो।’

प्राविधिक रुपमा पनि १९६० को विन्दुबाट बजार तल आएको रिजाल बताउँछन्। ‘तर, बजार १९०० भन्दा तल जाँदैन’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह २.३८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९३ प्रतिशत, विकास बैंक समूहमा १.३९ प्रतिशत, वित्त समूहमा १.८० प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२० प्रतिशत, जलविद्युत समूहमा २.११ प्रतिशत, लगानी समूहमा १.६९ प्रतिशत, जीवन बीमा समूहमा १.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.०३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७४ प्रतिशत, अन्य समूहमा १.९४ प्रतिशत र व्यापार समूहमा ०.३७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ५ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफको संस्थापक सेयरको ३ करोड ८९ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४५ लाख रुपैयाँ, एसियन लाइफको २ करोड ७० लाख रुपैयाँ, छिमेक लघुवित्तको २ करोड ८ ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५६ लाख रुपैयाँ र निफ्राको २ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सुपर मादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन सामलिंग पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।