काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १४.४४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९३८.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.०३ अंकले घटेर ३६५.२९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। हिजोको तुलनामा भने कारोबारमा झिनो सुधार आएको छ। 

बजार जानकार दामोदर गजुरेल राजनीतिक अन्यौलताकै कारण बजार घटेको बताउँछन्। ‘पछिल्लो समय ब्याजदरको विषयलाई लिएर बैंकहरुविरुद्ध आन्दोलन चलेको थियो’, उनले भने, ‘यही बेला अमेरिकामा बैंकहरु धमाधम डुब्दा लगानीकर्तामा त्रास सिर्जना भएको पनि हुन सक्छ। सोही कारणले पनि बजार घटेको हुन सक्छ। यद्यपि नेपालका बैंकहरु सुरक्षित नै छन् किनकि बिनाधितो ऋण प्रवाह गरेका छैनन्।’

प्राविधिक रुपमा आगामी साता बजार १९०० को आसपासबाट फर्किन सक्ने पनि गजुरेल बताउँछन्। 

अर्का बजार अर्जुन थापा पनि बजार घट्नुको मुख्य कारण राजनीतिक अन्यौलता नै रहेको बताउँछन्। ‘उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिमण्डलले पूर्णता पाएपछि बजारले लय समात्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूहमात्रै ०.५१ प्रतिशतले उकालो लागेको हो। 

आज लघुवित्त समूह सर्वाधिक १.८६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.८५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७८ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२४ प्रतिशत, जलविद्युत समूहमा ०.३८ प्रतिशत, लगानी समूहमा ०.६७ प्रतिशत, जीवन बीमा समूहमा ०.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१९ प्रतिशत र अन्य समूहमा ०.२९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५३ कम्पनीका ३७ लाख १६ हजार ६८० कित्ता सेयर १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८३ रुपैयाँमा करोबार भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक १० करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको ७ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड २९ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड १ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ९७ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९ लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ८६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ७९ लाख रुपैयाँ र कुमारी बैंकको १ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।